मुलुकमा रोजगारीको अभाव र अवसरहरूको कमीका कारण युवाहरूमा चरम निराशा बढ्दैछः सांसद खरेल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खरेलले यस विषयमा संसदमा समेत आवाज उठाएको जानकारी दिनुभयो । मुलुकमा रोजगारीको अभाव र अवसरहरूको कमीका कारण युवाहरूमा चरम निराशा बढ्दै गएको उल्लेख गर्दै उहाँले गणेश नेपालीलाई आम युवाहरूको सङ्घर्षपूर्ण अवस्थाको प्रतिनिधि भएको बताउनु भयो । सांसद खरेलले जस्तोसुकै तर्क गरे पनि यस घटनामा मृतक नै सही भएको जिकिर गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार तत्पर हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दैनिक गुजारा चलाउन सङ्घर्ष गरिरहेका एउटा सामान्य युवाको अवस्थालाई उनले प्रतिनिधित्व गर्छन् । यस सन्दर्भमा गहिरो छानबिन हुनुपर्छ । उनको जीवनको मूल्य कसैसँग पनि दाँजिन सकिँदैन र गुमेको जीवन कुनैपनि बहानामा फिर्ता हुन सक्दैन । गणेश नेपाली अब हामीमाझ छैनन्, तर कम्तीमा सत्यतथ्य बाहिर ल्याएर उनको परिवारले न्याय पाउनुपर्छ । आगामी दिनमा यस्ता हृदयविदारक घटनाहरू नदोहोरिउन् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ ।’

उहाँले सरकारमाथि आफ्नो भरोसा र विश्वास रहेको बताउँदै यस प्रकरणलाई गम्भीरतापूर्वक लिएर निष्कर्षमा पु¥याउन आग्रह समेत गर्नुभयो ।