
-अनिल नेपाली / अर्घाखाँची डटकम
अर्घाखाँची। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई अर्घाखाँचीले आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सुझाव संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले कृषि क्षेत्रमा गरिएको सरकारी लगानीको प्रतिफल सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले अनुदानका कार्यक्रमहरू वास्तविक कृषक तथा कृषि उद्यमीसम्म पुगेर उत्पादन वृद्धि, रोजगारी सिर्जना र कृषि व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो। प्राप्त अनुदान र सहयोगको सदुपयोग गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा लाग्न उहाँले कृषकहरूलाई आग्रह गर्नुभयो।


कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई अर्घाखाँचीका प्रमुख विष्णु मगरातीले कार्यालयले जिल्लामा व्यावसायिक कृषि प्रवर्द्धन, कृषि उद्यम विकास तथा कृषकको आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले अनुदान प्राप्त कृषक तथा संस्थाहरूले कार्यक्रमको उद्देश्यअनुसार उत्पादन र व्यवसाय विस्तारका अनुभव तथा उपलब्धिहरू समेत कार्यक्रममा साझा गरेको बताउनुभयो।


सार्वजनिक सुनुवाइमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी, निजी क्षेत्रका प्रतिनिधि, कृषक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले कृषि अनुदानलाई थप प्रभावकारी, पारदर्शी र उत्पादनमुखी बनाउँदै वास्तविक कृषकसम्म सहज रूपमा पुर्याउन आवश्यक सुझावसमेत प्रस्तुत गरेका थिए।
तस्बिर : अनिल नेपाली / अर्घाखाँची डटकम






