साउदी अरब र क्यानडाबीच द्विपक्षीय सहयोग विस्तारका लागि विभिन्न समझदारी पत्रमा हस्ताक्षर

साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच जेद्दामा उच्चस्तरीय भेटवार्ता भएको छ । साउदी प्रेस एजेन्सीकाअनुसार उक्त भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय घटनाक्रमका विषयमा समीक्षा हुनुका साथै विभिन्न महत्वपूर्ण समझदारी पत्रहरू आदानप्रदान गरिएको छ ।

दुई देशबीच भएका समझदारीहरूमा ऊर्जा क्षेत्रमा सहकार्य, ‘साउदी–क्यानडा समन्वय परिषद्’ को स्थापना, तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानी र सीप विकास गर्ने लगायतका विषयहरू समावेश छन् । बिहीवार नै जेद्दामा ‘साउदी–क्यानडा लगानी मञ्च’ समेत आयोजना गरिएको थियो ।

उक्त मञ्चका क्रममा दुवै देशका सरकारी निकाय, निजी कम्पनी र संस्थाहरूबीच थप १५ वटा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मञ्चमा सहभागीहरूले वित्तीय सेवा, खानी, उन्नत उद्योग र आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा रहेका लगानीका अवसरहरूबारे गहन छलफल गरेका थिए । साउदी अरबको खनिज स्रोत करिब २.५ ट्रिलियन अमेरिकी डलर बराबर रहेको अनुमान गरिएको छ, जसमा ५० भन्दा बढी प्रकारका खनिजहरू उपलब्ध रहेका छन् ।