श्रीलंकामा चिनियाँ सहयोगमा निर्मित थम्बुत्तेगामा खानेपानी आयोजनाको उद्घाटन

श्रीलंकाको अनुराधापुरामा चीनको सहयोगमा निर्माण गरिएको ‘थम्बुत्तेगामा खानेपानी आयोजना’को शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले एक विशेष समारोहका बीच उक्त आयोजनाको उद्घाटन गर्नुभएको हो ।

चीनको ‘चाइना जियो–इन्जिनियरिङ कर्पोरेसन’ र ‘चाइना नेशनल एरो–टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेसन’को संयुक्त सहकार्यमा यो आयोजना सम्पन्न भएको हो । यस आयोजनाअन्तर्गत दैनिक १८ हजार घनमिटर पानी प्रशोधन गर्ने क्षमताको प्लान्ट, ४२ हजार घनमिटर क्षमताको वाटर इन्टेक प्रणाली, तीनवटा उच्च क्षमताका पानी ट्याङ्की र २०४ किलोमिटर लामो पाइपलाइन नेटवर्क निर्माण गरिएको छ । यस आयोजनाबाट स्थानीय २५ हजारभन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलंकाका आवास, निर्माण तथा खानेपानी मन्त्री सुशिल रनसिंघेले आयोजना सफलतापूर्वक सम्पन्न गरिदिएकोमा चिनियाँ पक्षप्रति आभार प्रकट गर्नुभयो । उहाँले यस आयोजनाले स्थानीय बासिन्दाको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजना प्रमुख वाङ बिनकाअनुसार उक्त क्षेत्रमा लामो समयदेखि स्वच्छ खानेपानीको अभाव र गुणस्तरहीन पानीका कारण विभिन्न दीर्घकालीन रोगहरूको जोखिम रहँदै आएको थियो । आयोजनाको शुरुवातसँगै अब स्थानीय बासिन्दाले सुरक्षित र गुणस्तरीय खानेपानी प्राप्त गर्ने र यसले जनस्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने उहाँले जानकारी दिनुभयो । सन् २०१८ देखि निर्माण कार्य शुरु गरिएको यो खानेपानी आयोजनालाई चीन र श्रीलंकाबीचको द्विपक्षीय सहकार्यको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।