पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ

पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ । शाहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुनसक्ने जोखिम न्युनिकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ (मापसे) तथा लागुपदार्थ (लापसे) सेवनसम्बन्धी विशेष जाँच शुरु गरेको हो । सडकमा सवारी चालकहरूको नियमित जाँच गरिएझैँ पोखरा–१८, सराङकोटस्थित तोरीपानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटहरूको आकस्मिक परीक्षण गरेको थियो ।

भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति रहेको हालको समयमा पाइलटहरूले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यो अनुगमन गरिएको हो ।

वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीसहितको टोलीले तोरीपानीमा पुगेर ३५ जना पाइलटको स्वास्थ्य परीक्षण गरेको थियो । डिएसपी भट्टराईकाअनुसार उडानका क्रममा हुनसक्ने मानवीय त्रुटी र सम्भावित दुर्घटना रोक्नका लागि यो कदम चालिएको हो । पर्यटकको सुरक्षालाई सुरक्षित गर्न आफूहरुले चेकजाँच गरेको बताउनु भयो । पोखराको मौसम परिवर्तन भइरहने भएकाले पाइलटले विशष सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । सुरक्षित शाहसिक गन्तव्यस्थल बनाउन चेकजाँचको श्रृंखला जारी रहेको बताउनु भयो ।

प्याराग्लाइडिङ आफैँमा एक शाहसिक र जोखिमपूर्ण खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय–समयमा यस्तो अनुगमन गर्दै आएको छ । विगत २५ वर्षको अवधिमा टेन्डम उडान (पाइलट र यात्रु) का क्रममा दुई वटा दुर्घटना भइसकेका छन् । यस्तो अवस्थामा प्रहरीको सक्रियताले पर्यटकहरूमा थप आत्मविश्वास जगाउने र उडान सुरक्षित हुने विश्वास पाइलटहरूले व्यक्त गरेका छन् । प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमले प्याराग्लाइडिङ गर्न दिनमा ५ सय जना भन्दा बढी पर्यटक आउने गरेको बताउनु भयो । पर्यटन क्षेत्र बचाउने काम आफ्नै भएकाले सबैले मिलेर सुरक्षित रुपमा काम गर्नुपर्ने बताउनु भयो । यस पटक भारतीय र बंगलादेशी पर्यटक पोखरामा अपसिजनमा आइरहेको बताउनु भयो । अर्का एक जना कपाइलट ७ हजार ५ सयमा प्याराग्लाइडिङ गर्न सकिने बताउनु भयो । उक्त रकममा फोटो भिडियो सबै हुने उहाँको भनाइ छ ।

सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले प्याराग्लाइडिङ क्षेत्रमा हुने असुरक्षित गतिविधिले समग्र पोखराको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने बताउनु भयो । उहाँले पाइलटहरूलाई आफ्नो पेशाप्रति थप जिम्मेवार बनाउन र सुरक्षा मापदण्ड पालना गराउन सम्बन्धित निकायले नियमनमा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । शाहसिक खेलमा कुनै दुर्घटना हुन नदिन चेकजाँच कडाइ गरिएको बताउनु भयो । विगतका वर्षहरुमा पनि यो कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

सरोकारवालाहरूकाअनुसार साहसिक खेललाई व्यवस्थित र मर्यादित बनाउन यस्ता छड्के जाँचहरू नियमित रूपमा गरिनुपर्छ, जसले गर्दा सम्भावित हवाई दुर्घटनालाई न्युनिकरण गर्न मद्दत पुग्नेछ ।