जर्मन फुटबलका नयाँ प्रशिक्षकमा योर्गेन क्लोप नियुक्त हुने पक्का

न्युयोर्क, २८ असार । जर्मनीको पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा योर्गेन क्लोप आउने भएका छन ।

लिभरपूलका पूर्व प्रशिक्षकले न्युयोर्कमा जर्मन फुटबल संघका उच्च अधिकारीहरूसँग भेटघाट गरे पछि जर्मन टिमको मुख्य प्रशिक्षक बन्न सैदान्तिक सहमति जनाएका हुन् ।

संघले अर्को साता थप वार्ताको योजना रहेको र जनवरी २०२५ देखि ‘रेड बुल’मा ुग्लोबल फुटबल प्रमुखका रूपमा कार्यरत क्लोपसँगको सम्झौता अझै टुंगिन बाँकी रहेको छ । यद्दपी, अब क्लोपले जुलियन नागेल्सम्यानको स्थान लिने बिषय समयको कुरा मात्र रहेको छ । यसअघिका जर्मनका प्रशिक्षक नागेल्सम्यानले टोली विश्वकपबाट चाँडै बाहिरिए पछि राजीनामा दिएका थिए।

संघका अध्यक्ष बर्न्ड न्युएन्डोर्फ र उपाध्यक्ष हान्स जो आचिम वात्ज्केले राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा सम्भावित नियुक्तिका विषयमा न्युयोर्कमा योर्गेन क्लोपसँग पहिलो चरणको विस्तृत वार्ता गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

‘सकारात्मक छलफलका क्रममा सम्भावित सम्झौताका मुख्य बुँदाहरूमा सहमति जुट्यो, वार्ता अर्को साता पनि जारी रहनेछ,’ उनले भनेका छन, ‘दुवै पक्ष विश्वस्त छन् क क्लोपको हालको रोजगारदाता ‘रेड बुल’सँगको सम्झौताको अधिनमा रहेर नै वार्ता अन्ततः सफलतापूर्वक टुंगिनेछ।’

सन् २०२४ को गर्मीमा लिभरपूलमा आफ्नो ९ वर्षे कार्यकाल समाप्त गरे यता क्लोपले गर्ने यो पहिलो प्रशिक्षण कार्य र अन्तर्राष्ट्रिय फुटबलमा उनको पहिलो जिम्मेवारी हुनेछ, जसमा उनी चार वर्षे सम्झौताका लागि सहमत हुने अपेक्षा गरिएको छ।