पपुलिजमबाट देश रूपान्तरण सम्भव छैन भन्ने छर्लङ्ग भयो- शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश परिवर्तन गर्ने दाबी गर्नेहरूको कार्यशैली नै विरोधाभासपूर्ण देखिएकाले त्यस्तो प्रवृत्तिबाट देश रूपान्तरण सम्भव नरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले देशको दीर्घकालीन विकासका लागि स्पष्ट वैचारिक आधार, योजनाबद्ध नेतृत्व र राजनीतिक इमानदारिता अपरिहार्य रहेको बताएका हुन् ।

उनले भनेका छन्- ‘चर्का भाषण र सस्तो लोकप्रियता (पपुलिजम) को भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ ।’ वास्तवमा देश बदल्नका लागि स्पष्ट वैचारिक जग, सुस्पष्ट योजनासहितको गन्तव्य र त्यसप्रतिको निरन्तर समर्पण आवश्यक पर्दछ ।’

पोखरेलले देशका विकृति, विसङ्गति र बेथिति अन्त्य गर्ने जिम्मेवारी आफैंभित्रका कमजोरी सुधार्न नसकेका नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको अनुभूति हुन थालेको उल्लेख गरेका छन् । उनले पपुलिजम र सामाजिक सञ्जालको प्रभावका कारण जनअसन्तोषलाई राजनीतिक दल र राज्यविरुद्ध प्रयोग गरिएको दाबी गरेका छन्।

उनले विगतमा देशमा कुनै विकास नै नभएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै पूर्वाधार र सूचना प्रविधिको विस्तारका कारण नागरिकको अपेक्षा बढे पनि त्यसअनुसार वैधानिक आय वृद्धि हुन नसक्दा समस्या उत्पन्न भएको बताएका छन्। अपेक्षा र आम्दानीबीचको यही असन्तुलनले समाजमा भ्रष्टाचार, अपराध, सामाजिक अराजकता, पैतृक सम्पत्तिको क्षयीकरण र वैदेशिक पलायनजस्ता समस्या बढाएको उनको भनाइ छ।

पोखरेलले यस्ता संरचनागत समस्याको समाधान सस्तो लोकप्रियता वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने स्पष्ट पार्दै वैचारिक स्पष्टता, दूरदृष्टि र राजनीतिक इमानदारिताका आधारमा मात्रै देशलाई सही दिशामा अघि बढाउन सकिने बताएका छन्।