रणवीर सिंहको ‘धुरन्धर’ले जापानमा पानी भन्न पाएन, पहिलो दिन दर्शक ४५० जना मात्र

मुम्बई, ३० असार । रणवीर सिंह अभिनित ‘धुरन्धर’ फ्रेन्चाइजीले भारतीय बक्स अफिसमा तहल्का मच्चाएको थियो। यसले मात्र तीन महिनाको अवधिमा विश्वभर करिब ३ हजार २०० करोड रुपैयाँको कमाइ गर्दै सबैलाई चकित पारेको थियो।

फलस्वरूप, निर्माताहरूले यसलाई जापानमा पनि प्रदर्शन गर्ने योजना अघि सारे किनकि जापान भारतीय चलचित्रका लागि नयाँ अन्तर्राष्ट्रिय बजारका रूपमा उदाउँदै थियो। त्यहाँ सामाजिक सञ्जालमार्फत चलचित्रको व्यापक प्रचार प्रसार गरिएको थियो तर १० जुलाईमा जापानमा प्रदर्शन हुँदा ‘धुरन्धर’ नराम्रोसँग असफल भयो। उक्त बजारमा चलचित्रको यस्तो निराशाजनक प्रदर्शनको अनुमान निर्माताहरूले समेत गरेका थिएनन्।

जापानमा ‘धुरन्धर’ को प्रदर्शन हुनुभन्दा महिनौं अघि नै यसको व्यापक डिजिटल प्रचारप्रसार सुरु गरिएको थियो। फिल्मका जापानी पोस्टरहरू अनलाइनमा निकै भाइरल भएका थिए। तर, प्रदर्शनमा आउँदा भने यो फिल्मले एक हजार दर्शक पनि बटुल्न सकेन। यसको सुरुवात निकै कमजोर रह्यो  । वास्तवमा यति कमजोर कि त्यो दिन जापानमा प्रदर्शन भइरहेका शीर्ष २५ फिल्मको सूचीमा समेत यो पर्न सकेन। यद्यपि आधिकारिक बक्स अफिस तथ्याङ्क सार्वजनिक भइसकेको छैन तर विभिन्न रिपोर्टहरूले ‘धुरन्धर’ को सुरुवात निराशाजनक रहेको देखाएका छन्।

संयोगवश, जापानमा यो चलचित्र जम्मा ८० वटा पर्दामा मात्र प्रदर्शन गरिएको थियो। १० जुलाईको दिउँसो २ बजेसम्म यो चलचित्र हेर्न जम्मा ४४९ जना मात्र आएका थिए। पहिलो दिनको अन्त्यसम्ममा यो संख्या ९०० मात्र पुग्यो। चलचित्र क्षेत्रका विज्ञहरूका अनुसार यस चलचित्रको सुरुवात अझ राम्रो हुन सक्थ्यो तर निर्माताहरूको लापरबाहीका कारण यसको प्रदर्शन कमजोर रह्यो  । उनीहरूले सामाजिक सञ्जालमा चलचित्रको प्रचार त गरे तर वास्तविक रूपमा जमिनको स्तरमा प्रदर्शन सम्बन्धी कुनै स्पष्ट रणनीति देखिएन।

प्रसंगवश, जापानमा अल्लु अर्जुनको ‘पुष्पा २’ ले पनि आफ्नो प्रदर्शनको पहिलो दिन ९०० जना दर्शक मात्र बटुलेको थियो। यसले दुई साताको अवधिमा १० करोड ५० लाख येन अर्थात करिब ६ करोड १० लाख भारतीय रुपैँयाको कमाइ गर्‍यो। यति हुँदाहुँदै पनि जापानमा सर्वाधिक कमाइ गर्ने भारतीय चलचित्रहरूको सूचीमा यो १०औँ स्थानमा पर्छ। ‘धुरन्धर’ ले त्यो आँकडा पार गर्न सक्छ वा सक्दैन, त्यो भने हेर्न बाँकी नै छ।

जापानमा सर्वाधिक कमाइ गर्ने भारतीय चलचित्रको कीर्तिमान भने एस।एस। राजामौलीको ‘आरआरआर’ को नाममा छ, जसले त्यहाँ १३९ करोड ७० लाख भारु कमाएको थियो।