अफगानिस्तानका ३७ लाख बालबालिका कुपोषणको उच्च जोखिममा रहेको युनिसेफको चेतावनी

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले अफगानिस्तानका पाँच वर्षमुनिका करिव ३७ लाख बालबालिका कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । एक प्रतिवेदनअनुसार खाद्य असुरक्षा र न्युन पोषणका कारण त्यहाँका बालबालिकाहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो ।

प्रतिवेदनले बाल खाद्य र पोषण असुरक्षालाई कुपोषणको मुख्य कारकका रूपमा औंल्याएको छ । कमजोर आहार र बढ्दो खाद्य संकटले जोखिममा रहेका बालबालिकाहरूलाई ‘पिक वेस्टिङ सिजन’ (कुपोषण अत्यधिक बढ्ने समय) शुरु हुनुअघि नै प्राणघातक अवस्थातर्फ धकेलिरहेको युनिसेफले जनाएको छ । संकटलाई थप जटिल बनाउने कारकहरूमा बारम्बार फैलिरहने रोगका प्रकोप, न्युन खोप कभरेज, खानेपानी तथा सरसफाई सेवाको अपर्याप्तता, र आवश्यक बजेट एवं आपूर्तिको अभाव रहेका छन् ।

काबुलस्थित इन्स्टिच्युट अफ चाइल्ड हेल्थका बालरोग विभाग प्रमुख मोहम्मद अनिफ हस्सानजीले यस संकटका बारेमा जानकारी दिँदै भन्नुभयो, ‘खाद्य असुरक्षा, जनचेतनाको अभाव, खोपको कमी, सरसफाइमा लापरवाही, र बिरामी बालबालिकालाई समयमै अस्पताल नल्याउनु नै कुपोषणका प्रमुख कारण हुन् ।’

युनिसेफको अध्ययनले अफगानिस्तानमा बालबालिकाहरूले पर्याप्त पोषणयुक्त खाना नपाउने, छाक छोड्नुपर्ने र उमेरअनुसारको आवश्यक पोषण प्राप्त नगर्ने जस्ता प्रारम्भिक चेतावनीका संकेतहरू फेला पारेको छ । अफगानिस्तानका लागि युनिसेफ प्रतिनिधि ताजुद्दीन ओयेवालेले मुख्य सिजन शुरु हुनुअघि नै बालबालिकाहरू कुपोषणको चपेटामा पर्नु चिन्ताजनक रहेको बताउनुभएको छ ।

युनिसेफले बालबालिकाको आहार सुरक्षित गर्न र कुपोषणको बढ्दो दरलाई रोक्न तत्काल थप लगानीको आवश्यकता रहेकोमा जोड दिएको छ । अवस्था अझ भयावह हुनुअघि नै प्रभावकारी हस्तक्षेप र पूर्वतयारीका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिएको छ ।