बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिकाको नाममा सञ्चालन हुने सेयर तथा अन्य वित्तीय सेवामा राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्ने व्यवस्थामा सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। सबै नाबालिगले हालसम्म राष्ट्रिय परिचय नम्बर प्राप्त नगरेकाले सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्नुपरेको गुनासो आएपछि विभागले यस्तो पहल गरेको हो।

विभागका अनुसार बैंक तथा वित्तीय संस्थाले डिम्याट खाता खोल्ने, सेयर कारोबार तथा अन्य वित्तीय सेवा लिँदा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा माग्न थालेपछि धेरै अभिभावक समस्यामा परेका छन्। यसलाई ध्यानमा राख्दै बालबालिकाको हकमा तत्काल कडाइ नगर्न राष्ट्र बैंकमार्फत सम्बन्धित निकायलाई अनुरोध गरिएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र नियमावली, २०७७ मा नाबालिगले ‘नाबालक राष्ट्रिय परिचयपत्र’ प्राप्त गर्न सक्ने व्यवस्था भए पनि यो प्रणाली अझै पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छैन। यद्यपि, २०८० फागुन २७ गतेदेखि १६ वर्षमुनिका बालबालिकाको जन्मदर्तासँगै राष्ट्रिय परिचय नम्बर उपलब्ध गराउने व्यवस्था सुरु गरिएको थियो।

विभागले आफ्नो पत्रको बोधार्थ नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पनि पठाएको छ। यसबाट नाबालिगका डिम्याट खाता खोल्ने र सेयर कारोबारका क्रममा देखिएका व्यावहारिक समस्या समाधान हुने अपेक्षा गरिएको छ।