
काठमाडौँ । भारतका हास्य कलाकार समय रैनालाई भारतको सर्वोच्च अदालतले कडा चेतावनी दिदै जरीवाना गरेको छ ।
मंगलबार भएको सुनुवाइका क्रममा अदालतले अघिल्लो आदेश पालना नगरेको भन्दै दुवैलाई चेतावनी दिदै समय रैनामाथि १० लाख भारतीय रुपैयाँ जरिवाना समेत लगाएको छ । अदालतले उक्त रकम तोकिएको समयमा जम्मा नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

सुनुवाइका क्रममा अदालतले उनीहरू आफूलाई ‘युवा आदर्श’ का रूपमा प्रस्तुत गर्ने गरेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाएको थियो । अदालतले भनेको छ- ‘उनीहरू कस्तो किसिमका युवा आदर्श हुन् भन्ने बुझ्न गाह्रो छ । यस विषयमा सोच्दा नै चिन्ता लाग्छ ।’


अदालतले हास्य कलाकार समय रैनाले अदालतलाई भ्रममा पारेको र आदेशको खुला रूपमा उल्लङ्घन गरेको देखिएको टिप्पणी गरेको छ ।
सुनुवाइका क्रममा सर्वोच्च अदालतले रैनाले यसअघि दिइएका निर्देशन पालना गर्न असफल भएको जनाएको छ । अदालतले इजलाससमक्ष प्रतिबद्धता जनाए पनि त्यसपछिको व्यवहार ती प्रतिबद्धताअनुसार नभएको उल्लेख गरेको छ ।

यस अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि रैनाले युट्युबबाट आफ्ना ‘द लेटेन्ट’ शो को पहिलो सिजनका सबै सामग्री हटाएका थिए । अहिले भने उनले यस शोको दोस्रो सिजन प्रशारण गरिरहेका छन् ।




