एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ । थाइल्यान्डको बैंककमा आयोजना हुने एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोलीलाई बिदाइ गरिएको छ।

जुलाई १७ देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ६ पुरुष र १० महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी, रेवन्तबहादुर श्रेष्ठ, आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले रहेका छन् ।

टोलीको नेतृत्व राजु महर्जनले गर्नेछन् भने प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी र प्रशिक्षकमा सुमन महर्जन रहेका छन् ।

प्रतियोगितामा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले सिंहदरबारमा बिदाइ गरेका हुन्।