
-अर्घाखाँची डटकम।
काठमाडौं। नेपालकै बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले अन्तिम सजाय निर्धारण गर्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहर भएका १६ जनाको सजाय निर्धारण गरेको हो।


यसअघि अदालतले २३ असारमा ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ तथा ८ जनाको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको थियो। त्यसपछि सजाय निर्धारणको प्रक्रिया पूरा गर्दै अदालतले मंगलबार अन्तिम आदेश सुनाएको हो।
अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रकुमार राई, आङटावा शेर्पा, गोविन्दकुमार चौधरी (विक्रम), सन्देश शर्मा, सागर राई, सानु भण्डारी र केशव दुलाललाई विभिन्न कसुरमा दोषी ठहर गर्दै अधिकतम ४ वर्ष कैद सजाय सुनाएको छ। उनीहरूलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा अन्य सम्बन्धित अभियोगमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई मतियार (सहयोगी) को भूमिकामा दोषी ठहर गर्दै २ वर्ष कैद र जरिवानाको सजाय सुनाइएको छ। त्यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि विभिन्न कसुरमा दोषी ठहर गर्दै २ वर्ष कैद सुनाइएको छ।


यस्तै नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई १ वर्ष कैद सजाय तोकिएको छ। अदालतले सबै दोषीलाई कसुरअनुसार छुट्टाछुट्टै जरिवानासमेत तोकेको छ।
अदालतले स्पष्ट गरेको छ कि एउटै व्यक्तिलाई विभिन्न कसुरमा छुट्टाछुट्टै कैद तोकिए पनि सबैभन्दा बढी तोकिएको कैद अवधि मात्र भुक्तान गर्नुपर्ने छ। तर, जरिवाना भने सबै कसुरअनुसार पूर्ण रूपमा तिर्नुपर्ने आदेश गरिएको छ।
यो प्रकरण २०८० सालदेखि चर्चामा आएको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरिएको आरोपमा राजनीतिज्ञ, पूर्वउच्च सरकारी अधिकारी तथा बिचौलियाविरुद्ध मुद्दा दायर गरिएको थियो। यो प्रकरणलाई नेपालकै सबैभन्दा चर्चित राजनीतिक तथा संगठित अपराधसम्बन्धी मुद्दामध्ये एक मानिन्छ।




