
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो हाइड्रोजन–सञ्चालित रेलको उद्घाटन गर्नुभएको छ । यो रेल उत्तरी राज्य हरियाणाको ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा सञ्चालन हुनेछ । भारतमा पहिलो पटक स्वदेशमै विकसित हाइड्रोजन इन्धन सेल प्रविधिको प्रयोग गरी रेल सञ्चालन गरिएको हो ।
यस प्रविधिले हाइड्रोजन इन्धन सेलको माध्यमबाट विद्युत उत्पादन गर्दछ, जसलाई डिजेलबाट चल्ने रेलको तुलनामा स्वच्छ र वातावरणमैत्री विकल्प मानिएको छ । यस विकाससँगै भारत हाइड्रोजन रेल सञ्चालन गर्ने चीन, जर्मनी, जापान र अमेरिका जस्ता सिमित देशहरूको समूहमा सामेल भएको छ । अधिकारीहरूकाअनुसार यस प्रणालीको मुख्य केन्द्रमा १,२०० किलोवाटको ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’ रहेको छ ।


यसले हाइड्रोजन र अक्सिजनबीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत उत्पादन गर्दछ । यस प्रक्रियामा उप–उत्पादनका रूपमा केवल पानीको बाफ र ताप मात्र उत्सर्जन हुने भएकाले यो रेल यातायातको सबैभन्दा स्वच्छ स्वरूपमध्ये एक हो ।

१० वटा कोच रहेको यस हाइड्रोजन रेललाई अधिकतम ७५ किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न अनुमति दिइएको छ भने यसको डिजाइन गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ । यस रेलमा करिब २,६०० यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ ।




