
लेबनानको दक्षिणी सहर श्रीफाका किसानहरूले महिनौँको द्वन्द्वका कारण रोकिएको गहुँ काट्ने र झार्ने (थ्रेसिङ) कार्य पुनः शुरु गरेका छन् ।
लामो समयको ढिलाइपछि उनीहरूले यस सिजनको बाँकी रहेको बाली जोगाउने प्रयास गरिरहेका हुन् । स्थानीय किसान हामेद अहमद नज्जालकाअनुसार उक्त गहुँ गत नोभेम्बर र डिसेम्बर महिनाको बीचमा रोपिएको थियो ।

तर द्वन्द्वका कारण स्थानीय बासिन्दाहरू गाउँ छाडेर पलायन हुन बाध्य भएपछि फसल भित्र्याउने कार्य प्रभावित भएको थियो । सामान्य अवस्थामा मे महिनामा गहुँ काट्ने र जुनको शुरुवाती समयसम्ममा थ्रेसिङ मेसिनको प्रयोग गरी दाना छुट्ट्याउने गरिन्थ्यो । किसान नज्जालले युद्धका कारण यस वर्ष बाली भित्र्याउन निकै ढिलो भएको बताए ।


थ्रेसिङ प्रक्रियाबाट गहुँको दानाका साथै पशुपक्षीका लागि दाना र भुस (पराल) समेत उत्पादन हुने गर्दछ । विगतका महिनाहरूमा उत्पन्न अवरोध र द्वन्द्वका कारण उत्पादनमा केही कमी आए पनि, श्रीफाका किसानले आफ्नो बाली सुरक्षित रूपमा भित्र्याउन मेसिनको प्रयोग गर्दै कामलाई तिब्रता दिएका छन् ।




