
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न रोक लगाइएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले कुनै पनि कार्यालयले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्न निर्देशन जारी गरेको हो । निर्णयमा भनिएको छ – ;नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरवन्दीमा सम्बन्धित मन्त्रालय/ निकायले विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने । यसरी मिलान गर्दा बढी हुन जाने (फाजिल) कर्मचारीलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी ती निकायको रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाई कर्मचारीलाई कामविहिन हुने अवस्था आउन नदिने । नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप नेपाल सरकारका विभिन्न दरवन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले चालु आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने, नगराउने ।


२- सरकारले सार्बजनिक बिदाहरू पुनरावलोकन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिन थालिएपश्चात् साविकमा रहेका अन्य सार्वजनिक विदाहरूलाई पुनरावलोकन गर्ने निर्णय गरको हो । सार्बजनिक बिदा पुनरावलोकन गर्नका लागि बैठकले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक विदा पुनरावलोकन कार्यदल गठन गर्ने निर्णय गरेको छ । उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

३- एन्डी बर्नह्याम बेलायतको ५९औँ प्रधानमन्त्री बनेका छन् । बेलायतका राजा चार्ल्सले बकिङ्घम दरबारमा भएको निजी भेटवार्तापछि बर्नह्यामलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै बर्नहमले बेलायतको नयाँ सरकारको नेतृत्व गर्ने भएका छन् । उनले अब मन्त्रिपरिषद् गठन गरी सरकार सञ्चालनको प्रक्रिया अघि बढाउनेछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि सम्बोधन गर्दै देशमा आशा जगाउने गरी काम गर्ने बताए। उनले युवाहरुलाई केन्द्रमा राखेर कम गर्ने बताउदै छिट्टै सरकार विस्तार गर्ने बताए । किएर स्टार्मरले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बर्नह्याम लेबर पार्टीको नेता बन्दै नयाँ प्रधानमन्त्री बनेका हुन् ।
४- प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले नेपालको पुँजी बजारलाई थप व्यावसायिक, पारदर्शी र व्यवस्थित बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए । साथै, राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने र अनियमितता तथा गल्ती गर्नेमाथि शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारेका थिए । छलफलका क्रममा पुँजी बजारका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत र संस्थागत सुधार आवश्यक रहेको बताएका थिए । उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीलाई थप पारदर्शी बनाउने, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन कायम गरी उचित मूल्य निर्धारण प्रणाली विकास गर्ने, मार्जिन कर्जा प्रवाह सहज बनाउने तथा गैरआवासीय नेपालीलाई पनि पुँजी बजारमा लगानी गर्ने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसैगरी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सक्रिय बनाउनुपर्ने, धितोपत्रसम्बन्धी विद्यमान केही व्यवस्थामा संशोधन गर्नुपर्ने र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अघि बढाउनुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए। छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र कार्यान्वयनमा ल्याइसकिएको जानकारी दिए । नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले पनि पुँजी बजार सुधारसँग सम्बन्धित आवश्यक कानुनी तथा संस्थागत सुधार प्रक्रिया अघि बढिसकेको बताउँदै धितोपत्र कारोबारलाई अझ प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।


५- मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै रसुवाका दुई प्रमुख सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वतयारी तथा प्रतिकार्य जिल्ला कार्ययोजना, राजमार्गमा हुने अवरोध हटाउने सम्बन्धी योजनासहित जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ । भिरालो भूबनोट, कमजोर चट्टान तथा माटोको अवस्था, नदी किनाराका सडकमा हुन सक्ने कटान र मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै त्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक खण्ड तथा पासाङ ल्हामु राजमार्गअन्तर्गत ग्राङदेखि धुन्चेसम्मको सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार साउन ४ गते (आज) देखि अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू हुनेछ । अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधन भने सञ्चालन गर्न पाइने जनाइएको छ । कार्यालयले यातायात व्यवसायी, सरोकारवाला र सर्वसाधारणलाई जोखिमपूर्ण समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

६- फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना पराजित भएपछि राजधानी ब्युनस आयर्समा भएको समर्थकहरूको शान्तिपूर्ण जमघट हिंसात्मक बनेको छ । उपद्रवी समूहले तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्पेनसँग फाइनलमा १-० ले पराजित भए पनि अर्जेन्टिनाको उत्कृष्ट प्रदर्शनको सम्मानमा हजारौँ समर्थक राति ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा भेला भएका थिए । सुरुमा शान्तिपूर्ण रहेको कार्यक्रमपछि केही उपद्रवी समूहले ढुंगामुढा, तोडफोड र लुटपाट गर्न थालेपछि प्रहरी हस्तक्षेप गर्न बाध्य भएको थियो । प्रहरीले मोटरसाइकलमार्फत उपद्रवीलाई नियन्त्रणमा लिन थालेपछि अभिभावकहरू साना बालबालिकालाई लिएर सुरक्षित स्थानतर्फ भागेका थिए । अनुहार छोपेका र मदिरा सेवन गरेका केही व्यक्तिले पसलका सिसा फुटाउनुका साथै एक नाट्यगृहमा समेत जबर्जस्ती प्रवेश गरी क्षति पुर्याएका थिए । यस घटनाले अर्जेन्टिनाले २४ वर्षयताकै उत्कृष्ट विश्वकप प्रदर्शन गरेपछि समर्थकहरूले गरेको उत्सवमा खलल पुर्याएको छ । ब्युनस आयर्सको ओबेलिस्क क्षेत्रमा सामान्यतया जितको उत्सव मनाइने भए पनि यसपटक हारका बाबजुद हजारौँ समर्थक टोलीको सम्मानमा भेला भएका थिए। उनीहरूले राष्ट्रिय झण्डा फहराउँदै, गीत गाउँदै र “अर्जेन्टिना, अर्जेन्टिना” भन्दै टोलीको समर्थन गरेका थिए । यद्यपि टोलीको प्रदर्शनप्रति गर्व गरे पनि धेरै समर्थकले विश्वकप उपाधि गुमाएको पीडा लुकाउन सकेनन् । लियोनेल मेसीको सम्भावित अन्तिम विश्वकप आसुसँगै विदाई भएको भन्दै उनका फ्यानहरु निराश बनेका थिए । यता विश्वकपको उपाधि जितेको स्पेनमा भने समर्थकहरूले विभिन्न सहरमा भव्य उत्सव मनाएका छन् । राजधानी म्याड्रिडका सडकमा हजारौँ समर्थक भेला भई आतसबाजी गरेका थिए भने उपाधि उत्सवका क्रममा कुनै हिंसात्मक घटना सार्वजनिक भएको छैन ।
७- बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो । विभिन्न भौतिक बजारका साथै डिजिटल (अनलाइन) प्लेटफर्मका माध्यमबाट समेत दैनिक उपभोगका अत्यावश्यक खाद्य, पेय पदार्थ र लत्ताकपडाहरू अवैध रूपमा बिक्री भइरहेको भनी प्राप्त उजुरी र जनगुनासोप्रति मन्त्रालय र विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विभागद्वारा जारी सूचनामा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ एवं ‘नियमावली २०७६’ बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको स्मरण गराइएको छ । कानून विपरीत गरिने मिसावट, चोरी पैठारी र कम गुणस्तरका सामान बिक्री गर्ने जस्ता कार्यहरू पूर्ण रूपमा दण्डनीय र अक्षम्य रहेको ब्यहोरा सूचनामा उल्लेख छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजार स्वच्छता कायम गर्ने नीति अनुरूप विभागले उत्पादन, पैठारी, ढुवानी, सञ्चय र बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई कानूनले तोकेबमोजिमको दायित्व, सर्त र बन्देजहरू पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । मन्त्रालय र विभागले बजार अनुगमनलाई थप तीव्र बनाउने र कानूनको उल्लंघन गरी उपभोक्ताको स्वास्थ्य एवं अधिकारमाथि खेलबाड गर्ने जुनसुकै व्यवसायीलाई पनि कानूनबमोजिम हदैसम्मको कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
८- सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ । भूमि समस्या समाधान समितिले जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवश्यक विवरण संकलन गर्न साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । समितिले निर्धारण गरेको ढाँचाअनुसार फाराम भरी सम्बन्धित स्थानीय तहमा आवेदन दिनुपर्नेछ । लाभग्राहीहरूले आफ्नो वडामा तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पनि निवेदन बुझाउन सक्नेछन्। यससम्बन्धी विस्तृत सूचना सम्बन्धित स्थानीय तहहरूले सार्वजनिक गरिसकेका छन् । समितिले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न सम्बन्धित सबै भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई आग्रह गरेको छ। समयमै आवेदन नदिएमा आगामी प्रक्रियामा समावेश हुन कठिन हुन सक्ने भएकाले अन्तिम अवसरको सदुपयोग गर्न समितिले अनुरोध गरेको छ ।
९- नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका एक करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९७ ले बढेको छ भने रिज लाइन इनर्जीको शेयर १४.६४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर ६.८६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २९ करोड १५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २४ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

१०- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका छन् । सोमबार अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा आयोजित बैठकमा बजेट कार्यान्वयनमा प्रत्यक्ष भूमिका रहेका प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूसँग विस्तृत छलफल भएको हो । अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा चालु आर्थिक वर्षको बजेट समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, मन्त्रालयहरूबीच समन्वय बढाउने तथा विकास निर्माण र सेवा प्रवाहलाई गति दिने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
११- कञ्चनपुरको भिमदत्त नगरपालिका –१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गई सम्पर्कबिहिन भएका १४ जना महिला सम्पर्कमा आएका छन् । शनिबार बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न गएका उनीहरू साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि खोजतलास सुरु गरिएको थियो । नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीसहित स्थानीय समेत परिचालन गरी रातभर खोजी कार्य सञ्चालन गरिएको थियो । उनीहरु सोमबार दिउँसो करिब १: १० बजे सम्पर्क विहीन भएका सबै १४ जना सकुशल सम्पर्कमा आएको प्रहरीले बताएको छ । जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि बाहिर निस्कन नसकेको उनीहरुले बताएका छन् ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सम्पन्न भएपछि अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि अनुसार सञ्चालन नभएको निष्कर्ष निकालेको जनाएको छ । यससँगै आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन भएको भनिएको जिल्ला कार्यसमितिको घोषणा पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको छ । साथै, जिल्ला अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधिअनुसार पुनः सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय आगामी सात दिनभित्र सार्वजनिक गरिनेछ । सोही निर्णयका आधारमा जिल्ला अधिवेशन सम्पन्न गरिने आयोगले जनाएको छ । केन्द्रीय निर्वाचन आयोगले उक्त निर्णयको जानकारी सम्बन्धित निकायहरूमा पठाइसकेको र तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।
१३- यातायात व्यवस्था विभागले सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन आग्रह गरको छ । सोमबार एक सूचना जारी गर्दै विभागले करका दर र सिस्टम मिलाउनुपर्ने भएकाले अत्यावश्यकबाहेक कार्यालयमा नआउन आग्रह गरको हो । विभागले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा स्थानान्तरण र प्रदेश सरकारबाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भइरहेको जनाएको छ । सुचनामा भनिएको छ- ‘यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा बेस माइग्रेसन र प्रदेश सरकारवाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भई रहेको व्यहोरा अनुरोध छ उक्त कार्यहरु पूर्णरुपमा कार्यान्वयन हुन करिब १ हप्ता समय लाग्ने भएकाले अति आवश्यक काम परेको अवस्थामा बाहेक यातायात सम्बन्धी विभिन्न सेवा प्राप्तिका लागि मिति २०८३।०४।०८ गते पश्चात् मात्र सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्न हुन अनुरोध छ ।’

१४- भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीले आयोजना गरेको ‘संसद मार्च’ का क्रममा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् भने प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ । प्रदर्शनकारीका अनुसार लाठीचार्जका कारण धेरै व्यक्ति घाइते भएका छन् र केहीको टाउकोसमेत फुटेको छ । तर दिल्ली प्रहरीले भने बल प्रयोग गरिएको दाबी अस्वीकार गर्दै प्रदर्शन नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मात्र अपनाइएको जनाएको छ । संसदतर्फ अघि बढ्न खोजेका ठूलो संख्याका प्रदर्शनकारीलाई प्रहरीले जन्तर–मन्तर क्षेत्रमै रोकेको थियो । त्यसक्रममा केही प्रदर्शनकारी राजीव चौक र मण्डी हाउस मेट्रो स्टेशनभित्र प्रवेश गरेका थिए भने कतिपयले सुरक्षा बार तोडेर संसद प्रहरी कार्यालयसम्म पुग्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थलमा दिल्ली प्रहरी र द्रुत कार्यबलका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएका छन् । प्रहरीले संसद मार्चका लागि अनुमति नदिइएको भन्दै कानूनअनुसार सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । यता, ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले आफूहरूलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले संसद मार्च पूर्ण रूपमा शान्तिपूर्ण हुने र आफ्ना माग राख्न लोकतान्त्रिक अधिकार प्रयोग गरिरहेको बताएका छन् । यसैबीच, २३ दिनदेखि आमरण अनशनमा रहेका सोनम वाङचुकले अनशन अन्त्य गर्न सरकारसमक्ष तीनवटा सर्त अघि सारेका छन् । उनले शिक्षा प्रणाली र प्रश्नपत्र चुहावट प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्ने, ककरोच जनता पार्टीको प्रतिनिधिमण्डललाई संसद जान अनुमति दिनुपर्ने तथा सांसदहरूले उक्त विषय संसदमा उठाउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् । उनले स्वास्थ्य अवस्थाका कारण संसद जान सम्भव नभए सांसदहरू आफैं सफदरजङ अस्पताल पुगेर सोही प्रतिबद्धता जनाउनुपर्ने तेस्रो सर्त पनि राखेका छन् । यसअघि ककरोच जनता पार्टीले सामाजिक सञ्जालमार्फत वर्षा र कडा सुरक्षा व्यवस्थाका बाबजुद आफूहरूको संसद मार्च शान्तिपूर्ण रूपमा सम्पन्न हुने जनाएको थियो । दिल्ली प्रहरीले भने मार्चका लागि अनुमति नदिइएको दोहोर्याउँदै कानूनविपरीत गतिविधि हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।
१५- पहिरोका कारण अवरुद्ध मुग्लिन–काठमाडौं सडक सुचारु भएको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको थियो । लगातार भएको बर्षापछि धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक पहिरो गएको थियो भने चितवनको इच्छाकामनाको फिसलिङमा पनि पहिरो खसेको थियो । प्रहरीले हाल दुवै स्थानको पहिरो पन्छाएर यातायात दुईतर्फी सुचारु भएको जानकारी दिएको छ । प्रहरीले लामो लाइनका कारण सडक सामान्य हुन समय लाग्न सक्ने भन्दै लेन अनुशासन पालना गर्न आग्रह गरको छ । वर्षाका कारण रात्रीको यात्रामा जोखिम हुने भन्दै धादिङ र चितवन प्रशासनले गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाएका थिए ।
१६- मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कारका लागि १० कृतिको छनौट गरेको छ । गुठीले यी १० मध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिने जनाएको छ । छनौट गरिएका १० कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन् । गुठीका अध्यक्ष कुन्द दिक्षितले प्राप्त २९८ पुस्तकबाट १० पुस्तकको अन्तिम सूची सार्बजनिक गरिएको जनाएका छन् ।
१७- स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेसँगै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गरिने विभिन्न व्यक्तिगत पुरस्कारको घोषणा गरेको छ । फिफाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका स्पेनका मिडफिल्डर रोड्रीलाई विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै गोल्डेन बल प्रदान गरेको छ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले दोस्रो उत्कृष्ट खेलाडीका रूपमा सिल्भर बल प्राप्त गर्दा फ्रान्सका किलियन एम्बाप्पे ब्रन्ज बलबाट सम्मानित भएका छन् । एम्बाप्पेले प्रतियोगितामा सर्वाधिक गोल गर्दै गोल्डेन बुट पनि जिते । उनले आठ खेलमा १० गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् । यसअघि पनि उनी सन् २०२२ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए । स्पेनका गोलरक्षक उनाई सिमोन उत्कृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लोभ जित्न सफल भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका उनले स्पेनलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । स्पेनकै युवा रक्षक पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए । उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै भविष्यका स्टार खेलाडीका रूपमा आफ्नो क्षमता देखाएका छन् । यसैगरी, उत्कृष्ट खेल भावना प्रदर्शन गरेको भन्दै नेदरल्यान्ड्सलाई फिफा फेयर प्ले अवार्ड प्रदान गरिएको छ । स्पेनले फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै इतिहासमा दोस्रो पटक विश्वकप उपाधि जितेको थियो ।
१८- इंग्ल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई २७ रनले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ । लर्ड्समा भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा तीन विकेट गुमाएर ३८७ रनको विशाल योगफल बनाएको थियो । ३८८ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६० रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डको जितमा ज्याकब बेथेल नायक बने । उनले ९१ रन बनाउनुका साथै एक विकेट पनि लिए। उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको सर्वोत्कृष्ट खेलाडी घोषित भए । भारतका लागि रोहित शर्माले १११ बलमा १७ चौका र पाँच छक्काको सहयोगमा १३८ रनको उत्कृष्ट शतकीय इनिङ खेले । कप्तान शुभमन गिलले ७७ तथा विराट कोहलीले ७४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ३८८ रनको लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । त्यसपछि रोहित र विराट कोहलीले दोस्रो विकेटका लागि ११३ रन जोडे । तर अन्तिम चरणमा भारतले लगातार विकेट गुमाएपछि लक्ष्य भेट्टाउन सकेन । यसअघि ब्याटिङतर्फ बेन डकेटले १३५ बलमा १४१ रनको शानदार इनिङ खेले भने ज्याकब बेथेलले ९१ रन बनाए। दुवैले पहिलो विकेटका लागि १९२ रनको साझेदारी गरेका थिए। त्यसपछि जो रुट ७४ तथा जोस बटलर ४१ रनमा अविजित रहँदै अन्तिम १९ बलमा ६३ रन थपे र टोलीको योगफल ३८७ रन पुर्याए। यो भारतविरुद्ध इंग्ल्यान्डले बनाएको अहिलेसम्मकै उच्च एकदिवसीय स्कोर हो । यसअघि भारतले पहिलो एकदिवसीय खेलमा ६ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा इंग्ल्यान्ड चार विकेटले विजयी भएको थियो । त्यस्तै, यस भ्रमणअघि भएको टी-२० सिरिजमा पनि इंग्ल्यान्डले भारतलाई ४-० ले पराजित गरेको थियो। आयरल्यान्डले समेत यसअघि टी- २० सिरिजमा भारतलाई २-० ले हराएको थियो ।
१९- फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप फुटबलको इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । सन् २०२६ को विश्वकपमा एम्बाप्पेले आठ खेलमा १० गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले आठ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुट जितेका छन् । यसअघि कतारमा भएको सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पे आठ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए । लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने उनी पहिलो खेलाडी हुन् । २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बने । एकै संस्करणमा फ्रान्सका जस्ट फोन्तेनले सन् १९५८ मा १३ तथा हंगेरीका सान्दोर कोचिसले सन् १९५४ मा ११ गोल गरेका थिए । एम्बाप्पे पुरुष विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनको नाममा अहिले २२ गोल पुगेका छन्, जुन मेसीभन्दा एक गोल बढी हो । तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरेपछि उनले मेसीलाई उछिनेका थिए । यद्यपि फ्रान्स ६-४ ले पराजित हुँदै चौथो स्थानमा सीमित भयो । एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध दुई-दुई गोल गरेका थिए । त्यसपछि अन्तिम ३२ मा स्विडेनविरुद्ध गोल गरे भने अन्तिम १६ मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत निर्णायक गोल र क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध पनि गोल गरेका थिए । विश्वकप फाइनलमा मेसीसँग ह्याट्रिक गर्दै एम्बाप्पेलाई उछिन्ने अवसर थियो । तर स्पेनसँग १-० ले पराजित भएको खेलमा उनले गोल गर्न सकेनन् । मेसीले प्रतियोगिता आठ खेलमा आठ गोलसहित समाप्त गरे । यस संस्करणमा इंग्ल्यान्डका जुड बेलिङ्घम र नर्वेका एर्लिङ हालान्डले समान सात गोल गरे । फ्रान्सका उस्मान डेम्बेले र इंग्ल्यान्डका कप्तान ह्यारी केनले समान छ-छ गोल गरेका थिए ।
२०- स्पेनले दोस्रो पटक फिफा विश्वकप फुटबलको उपाधि जित्दै विश्व फुटबलमा फेरि आफ्नो प्रभुत्व स्थापित गरेको छ । रोमाञ्चक फाइनलमा स्पेनले १० खेलाडीमा सीमित अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै विश्व च्याम्पियन बन्न सफल भएको हो । स्पेनका लागि फेरान टोरेसले अतिरिक्त समयको १०६औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका हुन् । खेलभर अधिकांश समय बलमा नियन्त्रण कायम राखेको स्पेनले अर्जेन्टिनामाथि लगातार दबाब सिर्जना गरेको थियो । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई प्रभावहीन बनाउँदै स्पेनले उत्कृष्ट सामूहिक प्रदर्शन गरेको थियो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि फेरान टोरेसले गरेको एकमात्र गोल नै स्पेनलाई विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो । स्पेनले यससँगै इतिहासमा दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाएको छ । स्पेनले यसअघि २०१० मा विश्वकपको उपाधि जितेको थियो ।




