यी नदीमा आज आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरू—कोशी, नारायणी, बागमती, कर्णाली, र महाकाली तथा तिनका सहायक नदीहरू र कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तह भन्दा तल नै रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार आगामी ३ दिन (आज साउन ५ गतेदेखि ७ गतेसम्म) देशका प्रायः सबै प्रमुख तथा मध्यम नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।

जस अनुसार सप्तकोशी (चतरा), तमोर (त्रिवेणी), अरुण (सिम्ले), दुधकोशी (रबुवाबजार), तामाकोशी (बुस्ती), र सुनकोशी (हम्पचुवार) मा बहाव उल्लेख्य बढ्ने भने नारायणी (देवघाट), त्रिशुली (बेत्रावती), बुढीगण्डकी (आरुघाट), मर्स्याङ्दी (विमलनगर), सेती (दमौली), र कालिगण्डकी (कुमालगाउँ) मा जलसतह बढ्ने जानकारी दिएको छ । त्यस्तै कर्णाली (चिसापानी/असाराघाट), भेरी (समजिघाट), पश्चिम सेती (दिपायल), र महाकाली (पारिगाउँ) मा बहाव उच्च हुने महाशाखाले जनाएको छ ।

अन्य प्रमुख नदीहरू कन्काई (मैनाचुली), कमला (वेलसोत), बागमती (पधरादोभान), पूर्वी राप्ती (रजैया), पश्चिम राप्ती (कुसुम), र बबई (चेपाङ) मा बहाव बढ्ने क्रममा रहने जनाएको छ ।

त्यस्तै आज झापा, उदयपुर, मकवानपुर, गोर्खा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेल्धुरा, र बैतडी लगायतका १३ जिल्ला र आसपास भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

भोली र पर्सी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने सम्भावना रहेको छ ।

बाढीको मध्यम जोखिम रहेका जिल्लाका सर्वसाधारण तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारीमा रहन महाशाखाले आग्रह गरेको छ ।