
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिंग गर्ने भएको छ ।
यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।

आजको खेलमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने खेलिरहेका छन् ।
नेपाल र नामिबियाबीच अहिलेसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ५ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । त्यस्तै एक खेल नतिजा बिहिन सकिएको छ । पछिल्लो पटक दुवै देशबीच २०२४ फेब्रुअरीमा खेल भएको थियो र सो खेल नामिबियाले २ विकेटले जितेको थियो ।


लिग-२ यो सिरिज आजदेखि ३१ जुलाईसम्म हुने छ । यस सिरिज अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् भने जुलाई २३ मा नेपाल र नेदरल्याण्डस खेल्दैछन् । त्यस्तै जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया, जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।

लिग-२ को अहिलेसम्मको अंक तालिकामा नेदरल्याण्डस २८ खेलमा ३२ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २८ खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ । त्यस्तै नामिबिया २८ खेलमा २२ अंकसहित सातौं स्थानमा रहेको छ ।




