
अफ्रिकी महादेशमा व्याप्त विभिन्न रोगहरूको दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ घानाको राजधानी अक्रामा अफ्रिकी युनियन (एयू) को विशेष सत्र मङ्गलबारदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने यस सत्रमा मङ्गलवार मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ भने बुधवार राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको बैठक आयोजना हुनेछ ।
यस सत्रले मातृ मृत्युदर, सरुवा तथा नसर्ने रोगलगायत महादेशका प्रमुख स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ । स्वास्थ्य, मानवीय मामिला तथा सामाजिक विकासका लागि अफ्रिकी युनियनकी आयुक्त अम्मा ट्वम–अमोआले बैठकमा बोल्दै महादेशले स्वास्थ्य क्षेत्रमा पाँचवटा मुख्य प्रश्नहरूको जवाफ खोज्नुपर्नेमा जोड दिनुभयो।


उहाँका अनुसार अफ्रिकाले अब स्वास्थ्य क्षेत्रमा के फरक गर्नुपर्छ, यसको जिम्मेवारी कसले लिने, स्वास्थ्य हस्तक्षेपका लागि आवश्यक बजेटको व्यवस्था कसरी गर्ने, प्रगतिको मापन कसरी गर्ने र नेताहरू आफ्ना नागरिकप्रति कसरी जवाफदेही बन्ने भन्ने विषयहरूमा केन्द्रित हुनुपर्नेछ ।

आयुक्त अमोआले स्वास्थ्यकर्मीहरूको पलायनप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘हामीले स्वास्थ्यकर्मीहरूको कमजोर कार्यदशा, सीमित वृत्ति विकासका अवसर र उनीहरूलाई विदेश पलायन हुन बाध्य पार्ने अन्य कारकहरूलाई सम्बोधन गर्नैपर्छ। स्वास्थ्यकर्मीहरूलाई तालिम दिने तर उनीहरूलाई रोजगारी दिने र टिकाइराख्ने मार्ग प्रशस्त नगर्नु सार्वजनिक लगानी र मानवीय क्षमताको ठूलो क्षति हो ।’
कार्यक्रममा बोल्दै घानाका स्वास्थ्य मन्त्री क्वाबेना मिन्टा अकान्डोहले अफ्रिकाले दृढ संकल्प, नवीनता र साझेदारीका साथ नेतृत्व गरेमा आफ्नै भविष्य निर्माण गर्न सक्षम छ भन्ने कुरा प्रमाणित गरिरहेको बताउनु भयो ।




