
कम्बोडियाले मङ्गलवार ५० करोड अमेरिकी डलर मूल्य बराबरको ५.६२ टन अवैध लागुऔषध र प्रतिवन्धित रसायनहरू नष्ट गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री सार सोखाले दक्षिण कान्डल प्रान्तको पोन्हा लेउ जिल्लामा आयोजित एक विशेष समारोहमा उक्त परिमाणको लागुऔषध जलाइएको जानकारी दिनुभयो ।
लागुऔषध नष्ट गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोखाले यस कदमले लागुऔषध ओसारपसारमा संलग्नहरूलाई ‘शून्य सहनशीलता’को स्पष्ट सन्देश दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसले लागुऔषधमुक्त कम्बोडिया निर्माण गर्ने सरकारको दीर्घकालीन दृष्टिकोणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।’


मन्त्री सोखाले राष्ट्रिय शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न लागुऔषध अपराधविरुद्ध निरन्तर सक्रिय रहेका सुरक्षा निकायहरूको प्रशंसासमेत गर्नुभयो । अधिकारीहरूका अनुसार यी सामग्रीहरू राजधानी नोम पेन्ह र काम्पोङ छनाङ प्रान्तमा सञ्चालित विभिन्न सुरक्षा कारबाहीका क्रममा बरामद गरिएका थिए । लागुऔषध नियन्त्रण प्रहरी विभागको तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो छ महिनामा मात्र प्रशासनले २२५ विदेशीसहित १२ हजार ५ सय ८१ जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ । यस अवधिमा २.३८ टन लागुऔषध जफत गरिएको विभागले जनाएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुक कम्बोडियामा लागुऔषध ओसारपसारमा संलग्नका लागि मृत्युदण्डको व्यवस्था छैन । यद्यपि, ८० ग्रामभन्दा बढी अवैध लागुऔषध ओसारपसारमा संलग्न पाइएमा दोषीलाई जन्मकैदसम्मको सजाय हुने कानूनी प्रावधान रहेको छ ।




