
काठमाडौं, ७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२÷८३ मा नाफा र सञ्चालन आम्दानीमा गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ। अपरिष्कृत विवरणअनुसार बैंकले समीक्षा अवधिमा ९१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको सञ्चालन मुनाफा पनि १९.८० प्रतिशतले घटेर १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, ब्याज आम्दानी २३.८९ प्रतिशतले घट्दै १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको मुख्य आम्दानी स्रोतमा दबाब परेको संकेत गरेको छ।


यद्यपि, बैंकले कर्जा लगानी विस्तारलाई भने निरन्तरता दिएको छ। समीक्षा अवधिमा निफ्राले ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो। निक्षेप संकलन पनि बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ तथा सरप्लस ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँमा झरेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा आएको छ भने प्रतिशेयर नेटवर्थ ११७.२२ रुपैयाँ कायम भएको छ।
बैंकले सम्पत्ति–दायित्व व्यवस्थापन, ब्याजदरको उतारचढाव, अन्तर्राष्ट्रिय आर्थिक–राजनीतिक अनिश्चितता, इन्धन तथा कच्चा पदार्थको मूल्यवृद्धि, अर्थतन्त्रको सुस्तता र नयाँ परियोजनामा बढ्दो प्रतिस्पर्धालाई आगामी दिनका प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।





