विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत

काठमाडौं, ७ साउन । नेपालले आर्थिक वर्ष २०८२÷८३ मा सीमापार विद्युत् व्यापारबाट अहिलेसम्मकै उच्च आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बङ्गलादेशमा विद्युत् निर्यातबाट एक वर्षमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ६८ प्रतिशत बढी हो।

समीक्षा अवधिमा नेपालले कुल ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ। अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ। भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) अन्तर्गतका विभिन्न बजार तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत प्रतियुनिट ७ रुपैयाँ ५६ पैसामा विद्युत् बिक्री गरिएको थियो।

निर्यात बढेसँगै विद्युत् आयातमा भने उल्लेख्य कमी आएको छ। आर्थिक वर्षभर १ अर्ब १४ करोड ९८ लाख युनिट मात्रै विद्युत् आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो। आयातमा भएको खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।

विद्युत् निर्यातबाट प्राप्त आम्दानीबाट आयात खर्च कटाउँदा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँको तुलनामा यो बचत ३१३ प्रतिशतले बढेको हो। प्राधिकरणले उत्पादन वृद्धि, अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार र क्षेत्रीय विद्युत् बजारमा पहुँच विस्तारका कारण यस्तो उपलब्धि हासिल भएको जनाएको छ।