नर्वेमा चरम दक्षिणपन्थी उग्रवादको बढ्दो जोखिमप्रति प्रधानमन्त्रीको चेतावनी

सन् २०११ जुलाई २२ मा भएको भीषण आतंकवादी आक्रमणको १५ औं स्मृति दिवसका अवसरमा नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरले युवाहरूमा बढ्दो चरम दक्षिणपन्थी कट्टरपन्थीको खतराप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । बुधवार आयोजित एक विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री स्टोरले सामाजिक सञ्जाल, आर्टिफिसियल इन्टेलिजेन्स र सामाजिक एक्लोपनले उग्रवादलाई थप मलजल गरिरहेको चेतावनी दिनुभयो ।

उटोया टापुमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री स्टोरले भन्नुभयो, ‘समयले सबै घाउ निको पार्दैन ।’ सन् २०११ जुलाई २२ मा दक्षिणपन्थी चरमपन्थी एन्डर्स बेहरिङ ब्रेभिकले ओस्लोको सरकारी क्षेत्रमा बम विष्फोट र उटोया टापुको एक समर क्याम्पमा अन्धाधुन्ध गोली प्रहार गर्दा ७७ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणले नर्वेली समाजमा गहिरो र मेटाउन नसकिने दाग छोडेको छ ।

‘विगत १५ वर्षमा यस आक्रमणले आम मानिस र समुदायमा कति ठूलो मूल्य चुकाउनुपर्यो भन्ने कुरालाई नर्वेली समाजले कम आँकेको मलाई महशुस हुन्छ ।’ स्टोरले भन्नुभयो, ‘आक्रमणको चोट अझै पनि उत्तिकै गहिरो छ ।’
उटोया आक्रमणमा बाँच्न सफल भएका कतिपय व्यक्तिहरू हाल नर्वेको राजनीतिमा सक्रिय छन्,

 

जसमा वर्तमान मन्त्रिपरिषद्का सदस्य र वरिष्ठ सरकारी अधिकारीहरू समेत सामेल छन् । उनीहरूको निरन्तरको राजनीतिक संलग्नताले मृत्यु र हिंसामाथि शान्तिपूर्ण भविष्य निर्माण गर्ने संकल्पको विजय भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । यद्यपि, वर्तमान परिस्थितिमा नाबालिगहरू समेत अनलाइनका माध्यमबाट चरम दक्षिणपन्थी विचारधारातर्फ आकर्षित भइरहेकोमा उहाँले शतर्क गराउनु भयो । सामाजिक बहिष्करण, एक्लोपन, र लागुऔषध दुव्र्यसन जस्ता कारणले कट्टरपन्थीलाई प्रश्रय दिइरहेको उहाँको तर्क छ । साथै, सामाजिक सञ्जालका एल्गोरिदमले समाजमा ध्रुवीकरण बढाएको र आर्टिफिसियल इन्टेलिजेन्सका कारण भ्रामक सूचना सम्प्रेषण गर्न सहज भएको उहाँले औंल्याउनु भयो ।

आक्रमणकारी एन्डर्स बेहरिङ ब्रेभिकलाई सन् २०१२ मा २१ वर्षको जेल सजाय सुनाइएको थियो, जुन तत्कालीन नर्वेली कानून अन्तर्गतको अधिकतम सजाय हो । यदि उहाँ समाजका लागि अझै पनि खतरा रहेको ठहरिएमा, कानून बमोजिम उनको हिरासत अवधि थप गर्न सकिने प्रावधान रहेको छ ।