ढल्केबरमा ब्रिकेट उद्योगमा आगलागी, तीन कामदार गम्भीर घाइते

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्यास चुहिएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहीबार बिहान राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन गर्ने उद्योग) परिसरभित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास चुहिएपछि अचानक आगलागी भएको हो ।

आगलागीमा बाराको प्रसौनी गाउँपालिका–४ खुट्वा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महत्तो गम्भीर घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको प्रारम्भिक उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा गरिएको थियो । थप उपचारका लागि उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

घटनाको कारण तथा क्षतिको विवरण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।