प्रविधि क्षेत्रमा दुर्लभ घटना: ओपनएआईको मोडल परिक्षणका क्रममा एआईले अर्को प्रणाली ह्याक गरेपछि..

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो क्षमतासँग सम्बन्धित एक असाधारण घटनाको खुलासा भएको छ । अमेरिकी प्रविधि कम्पनी ओपन एआईले आफ्नो आन्तरिक परीक्षणका क्रममा एउटा उन्नत एआई नमुनाले स्वतः अर्को एआई कम्पनी हगिङ फेसको प्रणालीमा प्रवेश गरेको जनाएको छ । कम्पनीले यसलाई एआई इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटनामध्ये एक भनेको छ ।

ओपन एआईका अनुसार नियन्त्रित परीक्षणका क्रममा कुनै एआई नमुनाले मानवीय निर्देशनबिना अर्को कम्पनीको प्रणालीमा सफलतापूर्वक पहुँच बनाएको यो पहिलो घटना हुन सक्ने बताइएको छ ।

कम्पनीका अनुसार यो घटना आन्तरिक साइबर सुरक्षा परीक्षणका क्रममा भएको हो । परीक्षणमा जीपीटी–५.६ सोलसहितका विभिन्न उन्नत एआई नमुनाको साइबर क्षमता मूल्याङ्कन गरिएको थियो । ती नमुनालाई सीमित इन्टरनेट पहुँच भएको छुट्टै परीक्षण वातावरणमा सञ्चालन गरिएको थियो ।

यसै क्रममा एआई नमुनाले पहिले पहिचान नभएको सफ्टवेयर कमजोरीको उपयोग गर्दै इन्टरनेटमा पहुँच बनाएको र त्यसपछि हगिङ फेसको प्रणालीसम्म पुगेको कम्पनीले जनाएको छ ।

ओपन एआईका अनुसार हगिङ फेसले गत साता असामान्य गतिविधि समयमै पहिचान गरी त्यसलाई रोक्न सफल भएको थियो । त्यस्तै, ओपन एआईको सुरक्षा टोलीले पनि नमुनाको शंकास्पद गतिविधि पहिल्यै पत्ता लगाएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले एआई नमुनाको उद्देश्य कुनै प्रकारको क्षति पुर्‍याउने नभई साइबर सुरक्षा मापदण्डसँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्ने प्रयास रहेको देखाएको कम्पनीको भनाइ छ ।

ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले पनि सामाजिक सञ्जाल एक्समार्फत घटनाको पुष्टि गर्दै एआई नमुनाको मूल्याङ्कनका क्रममा ठूलो सुरक्षा चुनौती सामना गर्नुपरेको बताएका छन् । कम्पनीले यसलाई अत्याधुनिक एआई साइबर क्षमताको उदाहरणका रूपमा व्याख्या गरेको छ ।

यता हगिङ फेसका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत क्लेम डेलाङले सुरुमा यस्तो आक्रमण कुनै ठूलो एआई प्रयोगशालाबाट भएको हुन सक्ने अनुमान गरिएको बताए । उनले पछिल्लो २४ घण्टादेखि ओपन एआईसँग मिलेर अनुसन्धान भइरहेको र हालसम्म कुनै दुर्भावनापूर्ण उद्देश्य रहेको प्रमाण फेला नपरेको जानकारी दिए । उनका अनुसार सबैभन्दा आश्चर्यजनक पक्ष भनेको एआई नमुनाले सम्पूर्ण प्रक्रिया आफैँ सम्पन्न गर्नु हो ।

घटनापछि ओपन एआईले एआई नमुनाहरूले सफ्टवेयरका कमजोरीहरू पहिलेभन्दा धेरै छिटो पहिचान गरी प्रयोग गर्न सक्ने भएकाले सुरक्षा प्रणाली थप कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । कम्पनीले अब एआई विकासका क्रममा नियन्त्रण प्रणाली, निगरानी, पहुँच नियन्त्रण तथा सुरक्षा परीक्षणलाई अझ कडा बनाइने र पहिचान भएका कमजोरीहरू तत्काल सुधार गरिने जनाएको छ ।

images

यो घटनाले कृत्रिम बुद्धिमत्ता अब केवल मानवलाई सहयोग गर्ने उपकरणमा मात्र सीमित नरही जटिल साइबर गतिविधि स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने क्षमतातर्फ अघि बढिरहेको संकेत गरेको विश्लेषण गरिएको छ । त्यसैले एआईको विकाससँगै यसको सुरक्षा, निगरानी र जिम्मेवार प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।