
काठमाडौँ । अर्जेन्टिनाका अनुभवी सेन्ट्रल रक्षक निकोलस ओटामेन्डीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३८ वर्षीय ओटामेन्डीले विश्वकप फाइनलपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको बताएका हुन् ।
आफ्नो चौथो विश्वकप खेलेका ओटामेन्डीले स्पेनसँग अतिरिक्त समयमा १-० ले पराजित भएको विश्वकप फाइनलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । यही खेल उनको राष्ट्रिय टोलीबाट अन्तिम खेल बन्यो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले लेखेका छन्- ‘आज मैले आफ्नो फुटबल जीवनकै सबैभन्दा कठिन शब्द लेखिरहेको छु। म अर्जेन्टिनाको राष्ट्रिय टोलीसँग विदा लिँदैछु, तर आफ्नो देशको प्रतिनिधित्व गर्न पाएकोमा अत्यन्त गर्व महसुस गर्छु। उपाधि इतिहासमा रहन्छ, तर यो जर्सीप्रतिको माया जीवनभर रहिरहन्छ ।’
ओटामेन्डीले १७ वर्षअघि राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले १३९ खेल खेल्दै आठ गोल गरेका छन् । उनी अर्जेन्टिनाले सन् २०२२ को विश्वकप, सन् २०२१ को कोपा अमेरिका र सन् २०२४ को कोपा अमेरिका जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।


उनले राष्ट्रिय टोलीको जर्सी लगाउने सपना बाल्यकालदेखि नै देखेको उल्लेख गर्दै अर्जेन्टिनाको प्रतिनिधित्व गर्नु आफ्नो फुटबल जीवनकै सबैभन्दा ठूलो सम्मान भएको बताए ।

उनले भने, ‘यो जर्सी मैले गर्व, जिम्मेवारी र सम्पूर्ण समर्पणका साथ लगाएँ। लाखौँ अर्जेन्टिनीका लागि यसको अर्थ कति ठूलो छ भन्ने मलाई सधैं थाहा थियो। मेरो अन्तिम खेल विश्वकप फाइनल बन्नु नियतिको निर्णय थियो। नतिजा हाम्रो पक्षमा आएन, तर अन्तिम क्षणसम्म टोलीले दिएको संघर्षप्रति म गर्व गर्छु।’
युरोपेली फुटबलमा सफल करिअर बिताएका ओटामेन्डीले हालै अर्जेन्टिनाको प्रतिष्ठित क्लब रिभर प्लेटसँग आबद्ध छन् । यसअघि उनले पोर्टो, भ्यलेन्सिया, म्यानचेस्टर सिटी र बेन्फिकाबाट पनि खेलेका थिए ।

सन्न्यास घोषणासँगै उनले राष्ट्रिय टोलीका नयाँ पुस्ताका खेलाडीलाई सन्देश दिँदै हारबाट कहिल्यै निराश नहुन आग्रह गरेका छन् ।




