
बेइजिङ, ८ साउन । जेल सजायबाट बच्न एक चिनियाँ व्यक्तिले यस्तो योजना बनाए कि जसले प्रहरीलाई समेत चकित पारिदियो।
उनले आफ्नो मृत्युको नाटक गरे, शव राख्ने बाकस अर्थात कफिन किने, घरमै आत्महत्या गरेको जस्तो दृश्य खडा गरे र परिवारको सहयोगमा आफ्नो अन्त्येष्टि समेत गराए। तर, केही सानातिना गल्तीहरूले उनको सम्पूर्ण योजना विफल बनाइदिए र अन्ततः उनी प्रहरीको फन्दामा परे।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटना चीनको हेनान प्रान्तस्थित अन्याङ सहरमा भएको हो। सि को रूपमा पहिचान गरिएका ती व्यक्तिलाई गत जनवरीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको थियो। अनुसन्धानबाट यो पनि खुल्यो कि उनी यस अघि दुई पटक मादक पदार्थ सेवन गरी सवारी चालक अनुमतिपत्र बिना नै गाडी चलाउँदा पक्राउ परेका थिए।


त्यस पछि अनुसन्धान पूरा नभएसम्मका लागि उनलाई धरौटीमा रिहा गरियो। चिनियाँ कानुनअनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु गम्भीर अपराध मानिन्छ, जसका लागि एकदेखि ६ महिनासम्मको जेल सजाय, जरिवाना र सवारी चालक अनुमतिपत्र खारेज हुने व्यवस्था छ।
भारी ऋण र विचाराधीन कानुनी मुद्दाहरूका कारण जेल पर्दा आफ्नो जीवन पूर्ण रूपमा बर्बाद हुने डर आरोपीलाई थियो। यही डरका कारण उनले आफ्नो मृत्युको नाटक गर्ने योजना बनाए। गत वर्षको जुन महिनामा उनले पहिले नै एउटा शव बाकस खरिद गरे।

त्यस पछि उनले अत्यधिक मात्रामा औषधि सेवन गरी आत्महत्या गरेको जस्तो देखाउन घरभरि औषधिका खाली बोतलहरू छरपस्ट पारे। प्राप्त जानकारी अनुसार, उनले मृत्यु भएको जस्तो भान पार्न सास रोक्ने र शरीरको तापक्रम घटाउने जस्ता उपायहरू अपनाएका थिए। परिवारले अत्यधिक औषधिका कारण उनको अनुहार कुरुप भएको कथा बनाए, जसका कारण शवलाई कपडाले छोपिएको थियो। अभियुक्तकी आमा र हजुरआमाले साँझ पर्नुअघि नै हतार हतार शव बाकस गाडे।
यसैबीच, आरोपी सि भने युनान प्रान्तमा भागेर गए र नयाँ परिचयका साथ काम खोज्न थाले। जब प्रहरीले उनको मृत्युबारे जानकारी पायो, अधिकारीहरू घटनास्थलमा पुगे तर त्यतिन्जेलसम्ममा ती व्यक्तिको भनिएको शव गाडि सकिएको थियो। गाउँले र आफन्तहरूले पनि कसैलाई पनि शव नदेखाइएको बताए, केवल उनकी आमा र हजुरआमाले मात्र शव देखेको दाबी गरे।

त्यसपछि प्रहरीले सीसीटीभी फुटेज, बैंक कारोबार र मोबाइल फोनका विवरणहरूको जाँच गर्न थाल्यो। अनुसन्धानबाट आरोपी जीवितै रहेको र लुक्नका लागि युनान भागेको कुरा खुल्यो। महिनौँ लामो खोजीपछि प्रहरीले उनलाई यसै वर्षको अप्रिलमा पक्राउ गर्यो।
पक्राउ परे पछि अदालतले ती व्यक्तिलाई पाँच महिनाको जेल सजाय र २० हजार युआन अर्थात चार लाख ४८ हजार नेपाली रुपैयाँ बराबरको जरिवानाको फैसला सुनायो। यसका साथै ११ जुनमा प्रहरीले अपराधीलाई आश्रय दिएको र कानुनको दायराबाट उम्कन सघाएको आरोपमा उनकी आमा र हजुरआमा विरुद्ध फौजदारी अनुसन्धान सुरु गर्यो।
यो घटना चिनियाँ सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भयो र विभिन्न रिपोर्टका अनुसार यो घटनासम्बन्धी सामग्री १ करोडभन्दा बढी पटक हेरिएको छ।





