अलाजी बाम्बा न्युकासल युनाइटेडमा ३.४० करोड पाउन्डमा अनुबन्ध

लन्डन, ८ साउन । न्युकासल युनाइटेडले मोनाकोका मिडफिल्डर अलाजी बाम्बालाई ३ करोड ४० लाख पाउन्ड मूल्यमा अनुबन्ध गरेको छ।

बिहीबार टाइनसाइडमा स्वास्थ्य परीक्षण गराए पछि यी फ्रान्सेली खेलाडी पाँच वर्षे सम्झौतासहित क्लबमा आबद्ध भएका हुन्।

‘न्युकासल मलाई अनुबन्ध गर्न इच्छुक छ भन्ने सुन्दा म निकै उत्साहित भएँ,’ २० वर्षीय खेलाडीले भने, ‘मलाई क्लबको इतिहासबारे थाहा छ र मैले रंगशाला पनि हेरिसकेको छु, जुन अद्भुत छ। म त्यहाँको मैदानमा उत्रिन आतुर छु र समर्थकहरूसँग उत्कृष्ट क्षणहरू बिताउने आशा राख्छु।’

उनले अगाडी भने, ‘म विश्वकै सबैभन्दा ठूलो लिगमा आफूलाई परीक्षण गर्न उत्साहित छु। गत सिजन मैले धेरै कुरा सिकेँ र अब म यो नयाँ अवसरका लागि तयार महसुस गर्दैछु। म यो क्लबका लागि आफ्नो शतप्रतिशत दिनेछु।’

बाम्बाले गत सिजन मात्र व्यावसायिक खेल जीवनको सुरुवात गरेका थिए तर ‘लिग १’ र च्याम्पियन्स लिगमा गरेको प्रदर्शनले न्युकासलको ध्यान तान्न सफल भए। गत सिजन कम्तीमा ५०० मिनेट खेलेका ‘लिग १’ का मिड फिल्डरहरूमध्ये बाम्बा ‘डुएल’ जित्ने, औसतमा प्रति खेल ९.१०, ट्याकल ३.६०, सफल ‘टेक अन’ १.६० र ‘एरियल डुएल’ जित्ने १.९० मामिलामा शीर्ष पाँचभित्र परेका थिए।

न्युकासलका मुख्य प्रशिक्षक एडी हाउले उनका अनुबन्ध पछि भने, ‘अर्का एक रोमाञ्चक युवा खेलाडी, जससँग काम गर्न हामी निकै उत्सुक छौं’ भनी टिप्पणी गरेका छन, ‘अलाजीले हाम्रो मिडफिल्डको विकल्पमा गहिराइ र विभिन्न गुणहरू थप्छन्, साथै उनीसँग विकासको ठूलो सम्भावना छ ।’