
काठमाडौं, ९ साउन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध मानव अधिकारवादी समूह ‘फेयर स्क्वायर’ ले दर्ता गराएको उजुरी अस्वीकार गरेको छ।
ओलम्पिक समितिका प्रवक्ताका अनुसार उक्त विषय ओलम्पिक कमिटीको आचारसंहिता आयोगको क्षेत्राधिकार भित्र नपर्ने भन्दै ‘फेयर स्क्वायर’ सो उजुरी अस्विकार गरिएको हो ।

शुक्रबार ओलम्पिक कमिटीका प्रवक्ताले भने, ‘समितिको को आचारसंहिता आयोगले ‘फेयर स्क्वायर’ को उजुरीमाथि विस्तृत रूपमा विश्लेषण गरेको थियो, तर यो समितिको कार्यक्षेत्र नपर्ने भएकाले खारेज गरिएको छ ।’
उनले अगाडी भने, ‘आयोगले यो कुरा पनि औंल्यायो कि फिफा अध्यक्षसम्बन्धी विषयसहितको हालको उजुरी केवल अन्तर्राष्ट्रिय महासंघको सुशासन र व्यवस्थापन तथा खेलका नियमहरूको कार्यान्वयनसँग सम्बन्धित छ, र यी दुवै विषय ओलम्पिक कमिटीको आचारसंहिताको क्षेत्राधिकार भित्र पर्दैननन ।’ उनका अनुसार फेयरस्क्वायरलाई यससम्बन्धमा जानकारी पनि गराइ सकिएको छ ।


फेयरस्क्वायरले जुलाई १४ मा इन्फान्टिनोविरुद्ध उजुरी दर्ता गरेको थियो। सो संस्थाले इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक समर्थन जनाएर राजनीतिक तटस्थतासम्बन्धी ओलम्पिक कमिटीका नियमहरूको पटक पटक उल्लंघन गरेको भन्दै उजुरी गरेका थियो ।

उक्त समूहले गत वर्ष पनि फिफाको आचारसंहिता समितिमा पनि उजुरी दर्ता गरेको थियो, जसमा इन्फान्टिनोले राष्ट्रपति ट्रम्पका कार्य र नीतिहरूप्रति पटक पटक सार्वजनिक रूपमा समर्थन जनाएको आरोप लगाएको थियो।
अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भएको यस वर्षको विश्वकपका क्रममा ट्रम्प विभिन्न विवादास्पद घटनाहरूसँग जोडिएका छन । जुलाई १९ मा विश्वकपको फाइनलपछिको ट्रफी हस्तान्तरण समारोहका लागि ट्रम्प र इन्फान्टिनो मैदानमा प्रवेश गर्दा न्युयोर्क, न्यु जर्सी स्टेडियममा दर्शकहरूले उनीहरूको चर्को विरोध अर्थात हुटिङ गरेका थिए ।

ट्रम्पले बताए अनुसार प्रतियोगिताको सुरुवाती चरणमा बोस्निया र हर्जगोभिना विरुद्धको ‘अन्तिम ३२’ को खेलमा अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनलाई देखाइएको ‘रेड कार्ड’ को निर्णय पुनर्विचार गर्न उनले इन्फान्टिनोसँग कुरा गरेको सार्बजनिक भएको थियो ।
बेल्जियम विरुद्धको ‘अन्तिम १६’ को खेलका लागि बालोगुन निलम्बनमा परेका थिए तर ट्रम्पको दबाब पछि उनलाई उक्त खेल खेल्ने अनुमति दिइएको थियो, जुन खेलमा अमेरिका ४–१ ले पराजित भएको थियो।
विश्वका केही प्रमुख द्वन्द्वग्रस्त क्षेत्रहरूमा संवाद प्रवर्द्धन गर्न र तनाव कम गर्न खेलेको भूमिकाका लागि अमेरिकी राष्ट्रपतिलाई डिसेम्बर महिनामा फिफाले पहिलो ‘शान्ति पुरस्कार’ प्रदान गरेको थियो, जुन पनि बिबादको घेरामा परेको छ । जसका कारण फिफा अध्यक्ष इन्फान्टिनो र अमेरिकी राष्ट्रपति ट्रम्प आलोचनाको शिकार बन्दै आएका छन ।





