विश्वकप बिजेता स्पेनिश कप्तान रोड्रीको सोमवार ढाडको शल्यक्रिया हुने

काठमाडौं, ९ साउन । विश्वकप विजेता स्पेनिस कप्तान रोड्रीको सोमबार ढाडको शल्यक्रिया गरिने भएको छ ।  म्यानचेस्टर सिटीका नयाँ प्रशिक्षक एन्जो मारेस्काले पुष्टि गरे अनुसार उनको सोमवार ढाडको शल्कक्रिया गरिने भएको हो ।

३० वर्षीय स्पेनिस कप्तानले गत हप्ता आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउँदै गर्दा  प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ उपाधीसमेत जितेका थिए। तर क्लब स्तरमा भने यी मिड फिल्डरका पछिल्ला दुई सिजन निकै प्रभावित भएको थियो ।

खासमा ‘एन्टिरियर क्रुसिएट लिगामेन्ट’ को चोटका कारण उनी २०२४–२५ को सिजनको अधिकांश समय मैदान बाहिर रहनुपरेको थियो भने गत सिजन पनि विभिन्न समस्याका कारण उनी प्रायः अनुपस्थित रहे।

तर पनि ‘ब्यालोन डि ओर’ विजेता रोड्री विश्वकपमा भने उत्कृष्ट लयमा देखिएका थिए  ।  तर सिटीको प्रशिक्षक नियुक्त भएपछि पहिलो पत्रकार सम्मेलनमा बोल्दै मारेस्काले बताए कि रोड्रीलाई अब शल्यक्रिया र त्यसपछिको निको हुने प्रक्रियाको आवश्यकता छ।

‘अब, सोमबार उनको शल्यक्रिया हुनेछ। त्यसपछि उनलाई बिदा चाहिन्छ, उनले आराम गरेर तन्दुरुस्त हुनुपर्छ र त्यसपछि उनी हामीसँग फर्किनेछन्’ इटालियन प्रशिक्षकले भने।

रोड्री कहिले फर्किन्छन् भन्नेबारे मारेस्काले विस्तृत जानकारी त दिएनन्, यद्यपि उनले पछिल्लो हप्ता आएका ती समाचारहरूलाई खारेज गरेका छन । जसमा यी स्पेनिस खेलाडीको रियल म्याड्रिड जाने सम्भावनाबारे चर्चा गरिएको थियो।

‘ठूला खेलाडीहरूको वरिपरि सधैं यस्ता अड्कलबाजीहरू भइरहन्छन्, त्यसैले मलाई यसको कुनै चिन्ता छैन,’ उनले भने, ‘मलाई लाग्छ यो सामान्य कुरा हो, विशेष गरी उनीहरू स्पेनले विश्वकप जितेकाले र उनी उत्कृष्ट खेलाडीहरूमध्ये एक भएकाले। मलाई लाग्छ हरेक प्रशिक्षक रोड्रीलाई आफ्नो टोलीमा राख्न चाहन्छन् किनभने उनी एक उच्च स्तरका खेलाडी हुन्।’

अझै टोलीमा फर्कन बाँकी रहेका अन्य खेलाडीहरू बारे बोल्दै मारेस्काले भने कि १६ अगस्ट, आइतबार प्रिमियर लिग च्याम्पियनमा आर्सनलविरुद्धको खेल हुनु भन्दा तीन वा चार दिनअघि उनीहरू टोलीमा उपलब्ध हुने अपेक्षा गरेका छन्।