अर्घाखाँचीमा स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दो, १ लाखभन्दा बढी आबद्ध

– केशव पन्थी, अर्घाखाँची डटकम ।

अर्घाखाँची। अर्घाखाँचीमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्ड, शाखा कार्यालय अर्घाखाँचीका अनुसार हालसम्म जिल्लाका १ लाख ९ सय ६ जना (५६.४७ प्रतिशत) नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्।

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम २०७२ साल चैत २५ गते कैलालीबाट नमुना कार्यक्रमका रूपमा सुरु भएको थियो। स्वास्थ्य बीमा ऐन, २०७४ लागू भएपछि कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गरिएको हो। अर्घाखाँचीमा २०७५ साल फागुन १५ गते दर्ता सुरु भई २०७६ साल जेठ १ गतेदेखि सेवा प्रवाह सुरु भएको हो।

हाल जिल्लाका ३२ हजार ३२१ परिवार (६६.९३ प्रतिशत) स्वास्थ्य बीमामा आबद्ध छन्। बीमितमध्ये ४८ हजार ५२३ पुरुष५१ हजार ४८२ महिला रहेका छन्।

स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु, आकस्मिक उपचार खर्चबाट आर्थिक सुरक्षा प्रदान गर्नु तथा स्वास्थ्य खर्चका कारण गरिबीमा धकेलिने अवस्थालाई न्यूनीकरण गर्नु रहेको शाखा कार्यालयले जनाएको छ।

कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक रु. ३,५०० योगदान गरेपछि रु. १ लाखसम्मको स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ। थप प्रत्येक सदस्यका लागि रु. ७०० थप योगदान गर्नुपर्नेछ भने अधिकतम रु. २ लाखसम्मको सुविधा उपलब्ध हुने व्यवस्था रहेको छ।

अर्घाखाँची अस्पताल, बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र डाँडा प्राथमिक स्वास्थ्य केन्द्रबाट पहिलो सेवा उपलब्ध हुँदै आएको छ। आवश्यक परे बोर्डले सूचीकृत गरेका देशभरका सरकारी स्वास्थ्य संस्था तथा रेफरल अस्पतालबाट पनि सेवा लिन सकिने व्यवस्था छ।

पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, एमडीआर क्षयरोगी, ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई विशेष सहुलियत तथा निःशुल्क वा आंशिक योगदान छुटको व्यवस्था गरिएको छ। साथै क्यान्सर, मुटुरोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर्सलगायत आठ प्रकारका जटिल रोगका बिरामीलाई थप रु. १ लाखसम्मको सुविधा उपलब्ध गराइने व्यवस्था रहेको कार्यालयले जनाएको छ।

images

स्थानीय तहमध्ये छत्रदेव गाउँपालिकामा सबैभन्दा बढी १८ हजार ४८४ जना (८५.५७ प्रतिशत) स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने भूमिकास्थान नगरपालिकामा सबैभन्दा कम १० हजार ५३९ जना (३७.३८ प्रतिशत) आबद्ध रहेका छन्। त्यसैगरी सन्धिखर्क नगरपालिकामा २६ हजार ८९ जना (६१.३९ प्रतिशत), पाणिनी गाउँपालिकामा १६ हजार ७०४ जना (७५.८३ प्रतिशत), शीतगंगा नगरपालिकामा १६ हजार ६३५ जना (४४.६६ प्रतिशत)मालारानी गाउँपालिकामा ११ हजार ४५५ जना (४६.१४ प्रतिशत) नागरिक स्वास्थ्य बीमामा आबद्ध रहेका छन्।

स्वास्थ्य बीमा बोर्ड, शाखा कार्यालय अर्घाखाँचीका प्रमुख रामबहादुर थापाले स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई सहज, सुलभ र आर्थिक रूपमा सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सेवा विस्तार भइरहेको बताउनुभयो।

images