
काठमाडौँ । इटाली फुटबल महासङ्घले सन् २००६ को विश्वकप विजेता टोलीका सदस्य आन्द्रेआ पिर्लोलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । दुवै पक्षबीच सहमति भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केही दिनसम्मको छलफलपछि महासङ्घले नयाँ परियोजनाको नेतृत्व पिर्लोलाई सुम्पने निर्णय गरेको हो । यसअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई इटालीको प्रशिक्षक बनाउने चर्चा भए पनि अन्ततः त्यो सम्भावना टरेको थियो ।


पिर्लोका लागि प्रशिक्षकका रूपमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो जिम्मेवारी हुनेछ । उनले युभेन्टसको तेइस वर्षमुनिको टोलीबाट प्रशिक्षण यात्रा सुरु गरेका थिए । त्यसपछि अप्रत्याशित रूपमा युभेन्टसको पहिलो टोलीको प्रशिक्षक बनेर इटाली कप र इटाली सुपर कप जिताएका थिए ।

त्यसपछि उनले टर्कीको फातिह करागुमरुक, इटालीको साम्पडोरिया तथा पछिल्लो समय संयुक्त अरब इमिरेट्सको युनाइटेड फुटबल क्लबको प्रशिक्षण सम्हालेका थिए । यी अनुभवले उनलाई विभिन्न फुटबल परिवेशमा काम गर्ने अवसर दिएको मानिएको छ ।
प्रशिक्षकका रूपमा पिर्लोले हालसम्म १३७ आधिकारिक खेलमध्ये ६८ खेलमा जित, ३१ खेलमा बराबरी र ३८ खेलमा हार बेहोरेका छन् । इटाली फुटबल महासङ्घले यही अनुभवलाई राष्ट्रिय टोलीको भविष्य निर्माण गर्ने आधारका रूपमा लिएको जनाएको छ ।

महासङ्घले पिर्लोको नियुक्तिसँगै दीर्घकालीन योजनालाई अघि बढाउने लक्ष्य राखेको छ । आधुनिक सोच भएका युवा इटाली प्रशिक्षकमार्फत राष्ट्रिय टोलीमा स्थायित्व कायम गर्ने, युवा खेलाडीलाई अवसर दिने र टोलीको स्पष्ट खेल शैली विकास गर्ने योजना रहेको बताइएको छ ।
खेलाडीका रूपमा पिर्लो इटाली फुटबलका उत्कृष्ट मध्यपङ्क्तिका खेलाडीमध्ये एक मानिन्छन् । खेल पढ्ने क्षमता, उत्कृष्ट पास र शान्त नेतृत्वका कारण उनले विशेष पहिचान बनाएका थिए । अब प्रशिक्षकका रूपमा उनले त्यही सोच र शैलीलाई राष्ट्रिय टोलीमा उतार्ने चुनौती सामना गर्नेछन् ।

सन् २००६ को विश्वकप विजेता टोलीका प्रमुख सदस्य रहेकाले उनीमाथि समर्थकको अपेक्षा पनि उच्च रहनेछ । यद्यपि सफल खेलाडी हुनु मात्र प्रशिक्षकका रूपमा सफलताको ग्यारेन्टी नहुने भएकाले अब उनको वास्तविक मूल्याङ्कन टोलीको प्रदर्शन र नतिजाबाट हुने विश्वास गरिएको छ। इटालीले पिर्लोको नेतृत्वमा राष्ट्रिय टोलीको नयाँ युग सुरु हुने अपेक्षा गरेको छ ।




