काठमाडौँ महानगरका ज्येष्ठ नागरिक दैनिक ५ देखि १५ प्रकारका औषधिको भरमा

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका २ हजार ८४७ जना ज्येष्ठ नागरिकमा गरेको स्वास्थ्य सर्वेक्षणले अधिकांश ज्येष्ठ नागरिक दैनिक ५ देखि १५ प्रकारसम्मका औषधि सेवन गरिरहेको देखाएको छ ।

सर्वेक्षणका क्रममा एक ९० वर्षीय ज्येष्ठ नागरिकले दैनिक २१ प्रकारका औषधिसमेत प्रयोग गरिरहेको पाइएको छ । सर्वेक्षणअनुसार ८० प्रतिशत ज्येष्ठ नागरिकमा उच्च रक्तचाप र करिब ४० प्रतिशतमा मधुमेहको समस्या देखिएको छ। महिलामा बाथ तथा हाडजोर्नीसम्बन्धी समस्या बढी रहेको छ भने पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या उल्लेख्य रूपमा देखिएको महानगरपालिकाले जनाएको छ ।

अध्ययनले ७५ प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकलाई नियमित घरमै स्वास्थ्य निगरानी र हेरचाह आवश्यक रहेको देखाएको छ। करिब १० प्रतिशत ज्येष्ठ नागरिक तत्काल अस्पतालमा विशेषज्ञ उपचार आवश्यक पर्ने अवस्थामा रहेको तथा १५ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ।

महानगरपालिकाका अनुसार औषधिको धेरै प्रयोग, निरक्षरता, एक्लोपना र पारिवारिक स्याहारको अभावले ज्येष्ठ नागरिकको स्वास्थ्य थप जटिल बन्दै गएको छ। सर्वेक्षणले वडा तहमा ज्येष्ठ नागरिक नर्सिङ डेस्क स्थापना, घरदैलो स्वास्थ्य सेवा विस्तार र औषधि व्यवस्थापनलाई सरल बनाउने प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ।