
काठमाडौं, ९ साउन । अन्तर्राष्ट्रिय फौजदारी अदालतको ‘स्टेट्स पार्टी’ले यौन दुर्व्यवहारको आरोपमा अभियोजक करिम खानलाई हटाउने पक्षमा मतदान गरेको छ ।
खानको कानुनी टोलीले यसको पुष्टि गर्दै खानलाई हटाउने निर्णय ‘राजनीतिक’ भएको प्रारम्भिक प्रतिक्रिया दिएकोछ ।

सन् २०२४ मा खानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र तत्कालीन रक्षामन्त्री योभ ग्यालेन्टविरुद्ध पक्राउ पुर्जी जारी गरे पछि अमेरिका र इजरायलबाट तीव्र आलोचना खेपिरहेकै बेला शुक्रबार यो मतदान भएको हो।
खानको कानुनी टोलीका प्रमुख तयब अलीले बताएअनुसार एक न्यायिक समितिले सर्वसम्मत रूपमा यो निष्कर्ष निकालेको थियो कि संयुक्त राष्ट्रसंघको आन्तरिक निगरानी सेवा कार्यालयको प्रतिवेदनले सम्बन्धित कानुनी ढाँचाअन्तर्गत खानबाट कुनै दुराचार वा कर्तव्यको उल्लंघन भएको पुष्टि गरेको थिएन ।


राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेतान्याहू विरुद्धको पक्राउ पुर्जीको विषयलाई लिएर खान तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतका अन्य धेरै अधिकारी र न्यायाधीशहरू माथि प्रतिबन्ध लगाएको थियो। ‘यो निर्णयको असर खानको व्यक्तिगत मामिलाभन्दा धेरै फराकिलो र गम्भीर छ,’ अलीले प्रारम्भिक प्रतिक्रियामा भने ।

‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्वतन्त्रता यस कुरामा निर्भर गर्दछ कि त्यहाँका निर्वाचित अधिकारीहरूलाई राजनीतिक वा प्रक्रियागत रूपमा अनुचित, अथवा स्वतन्त्र न्यायिक निकायहरूको निष्कर्षसँग मेल नखाने प्रक्रियाहरूद्वारा पदबाट हटाउन नपरोस् भन्ने सुनिश्चितता होस्,’ उनले भनेका छन ।
खानका वकिलका अनुसार प्रतिबन्धको सामना गरिरहेको र अदालत स्वयं अत्यधिक राजनीतिक दबाबमा रहेको अवस्थामा कार्यकारी मतदानमार्फत खानलाइ पदबाट हटाइएको छ । अलीले यो पनि बताए कि ‘स्टेट्स पार्टीजको सभाको निर्णयले यस मामिलामा भएको एकमात्र न्यायिक निष्कर्षलाई पछ्याउँदैन।’

आरोपहरू पहिलो पटक सार्वजनिक भएको झन्डै दुई वर्षपछि सदस्य राष्ट्रहरूले खानलाई पदबाट हटाउने निर्णयलाई अनुमोदन गरेका हुन । ५६ वर्षीय बेलायती ब्यारिस्टरले गम्भीर दुराचार गरेको निष्कर्ष एउटा निगरानी समितिले निकालेपछि जुन महिनामै आफ्नो जिम्मेवारीबाट पछि हटेकासमेत थिए।
आईसीसीले शुक्रबार जनाए अनुसार अब खानको कार्यालयको नेतृत्व उप अभियोजकहरू नझत शामिन खान र मामे मन्डियाए नियाङले गर्नेछन्।
खानमाथि आरोप लगाउने महिला, जसको नाम सारा भनेर खुलाइएको छ, ले हालै सीएनएनसँग कुरा गर्दै खानले आफूलाई छुने र अस्वाभाविक रूपमा स्पर्श गर्ने व्यवहार बढाउँदै लगेको बताएकी थिइन्। उनले आफू सुतेको नाटक गरिरहेको बेला खानले आफूलाई संवेदनशील अंगहरूमा छोएकोसमेत सुनाएकी थिइन ।




