सीरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु

मध्य सीरियाको दमास्कस–देइर अल–जोर राजमार्गमा शनिवार दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सीरियाली सरकारी समाचार एजेन्सी (साना) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो । सीरियाको प्रेषण, एम्बुलेन्स तथा आपतकालीन निर्देशनालयका निर्देशक नजिब अल–नासानकाअनुसार यस भीषण दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । दुर्घटना होम्स प्रान्तको पूर्वी ग्रामिण इलाकामा पर्ने अल–सुखना र पाल्मिरा क्षेत्रको बीचमा भएको जनाइएको छ ।

दुर्घटना लगत्तै सीरियाली रक्षा अधिकारीहरूले घाइते तथा मृतकहरूलाई होम्स सैन्य अस्पताल पु¥याउनका लागि कयौँ हेलिकप्टरहरू परिचालन गरेका थिए । दुर्घटनाको ठोस कारण भने हालसम्म खुल्न सकेको छैन । अधिकारीहरूले घटनाको बारेमा विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ ।

यसअघि, सीरियाको राज्य–सञ्चालित अल–इखबारिया टेलिभिजनले दुर्घटनामा १९ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । पछिल्लो समय घाइतेहरूको अवस्था र उद्धार कार्यसँगै मृतकको संख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।