सुनसरीमा दुई समूहबीच झडप: प्रहरीको गोली लागेर एक युवकको मृत्यु, १० जना घाइते

सुनसरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्ज मा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहता को मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्का का अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइए पनि आइतबार राति ११:२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा अन्य १० जना घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूको परिचय खुल्ने क्रम जारी रहेको बताइएको छ।

प्रहरीका अनुसार साउने सोमबार का अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एक समूह डिजे बजाउँदै तयारी गरिरहेको थियो। त्यसक्रममा अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै आपत्ति जनाएपछि सामान्य भनाभन सुरु भएको थियो।

राति करिब ९ बजे सुरु भएको विवाद विस्तारै उग्र बन्दै झडप, तोडफोड र आगजनीमा परिणत भएको स्थानीयले बताएका छन्। सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो। त्यतिबेला घर, मेडिकल पसल तथा सवारीसाधनमा तोडफोड र आगजनी भइरहेको प्रहरीले जनाएको छ।

स्थिति थप तनावपूर्ण बनेपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक ले अवस्था नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गर्ने निर्णय गरेको थियो। त्यसक्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।

घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।