चीनको दबाबपछि काठमाडौँमा हुने अन्तर्राष्ट्रिय तिब्बत सम्मेलनमा दलाई लामाका प्रतिनिधि नआउने

काठमाडौं। चीनको कूटनीतिक दबाबपछि आगामी भदौ ७ देखि १३ गते (अगस्ट २३–२९) सम्म काठमाडौंमा आयोजना हुने तिब्बत अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मा दलाई लामाको निर्वासित सरकार केन्द्रीय तिब्बती प्रशासन (CTA) ले औपचारिक रूपमा आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेको छ।

भारतको धर्मशालास्थित सीटीएले नेपाल सरकारको विदेश नीतिलाई सम्मान गर्दै सम्मेलनमा औपचारिक सहभागिता नजनाउने निर्णय गरेको सुरक्षा स्रोतले जनाएको छ। यद्यपि, व्यक्तिगत रूपमा नाम दर्ता गरिसकेका तिब्बती अनुसन्धानकर्ता तथा विज्ञहरूले भने सम्मेलनमा सहभागी हुन सक्ने बताइएको छ।

यसअघि सीटीएले आफ्नो थिङ्क ट्याङ्क तिब्बत पोलिसी इन्स्टिच्युट (TPI) बाट पाँच सदस्यीय टोली काठमाडौं पठाउने तयारी गरेको थियो। तर, काठमाडौँस्थित चिनियाँ राजदूत चाङ माओमिङ ले परराष्ट्र सचिव अमृतबहादुर राई सँग भेट गरी सम्मेलनमा चीनविरोधी गतिविधि हुन सक्ने चिन्ता व्यक्त गरेपछि परिस्थिति परिवर्तन भएको जनाइएको छ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (IATS) को १७औँ सम्मेलन मा ३९ देशका ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। आयोजकका अनुसार सबैभन्दा धेरै करिब १५० जना अमेरिका र करिब १०० जना चीन बाट सहभागी हुनेछन्।

सम्मेलनको उद्घाटन काठमाडौँ विश्वविद्यालयको धुलिखेल परिसर मा हुनेछ भने विभिन्न प्राज्ञिक सत्रहरू सोल्टी होटल, काठमाडौं मा सञ्चालन गरिनेछन्। सम्मेलनमा हार्वर्ड, कोलम्बिया, अक्सफोर्ड, क्याम्ब्रिज, पेकिङ, सिचुवान, छिङ्ह्वा लगायत विश्वका प्रतिष्ठित विश्वविद्यालयका अनुसन्धानकर्ता तथा तिब्बत अध्ययनका विज्ञहरूको सहभागिता रहनेछ।

आयोजकले यो पूर्ण रूपमा प्राज्ञिक (Academic) सम्मेलन भएको र नेपाल सरकार तथा सुरक्षा निकायसँग समन्वय गरेर सबै तयारी गरिएको जनाएको छ। उता, चीनले भने तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रममा दलाई लामा वा निर्वासित तिब्बती प्रशासनको राजनीतिक संलग्नतालाई आफ्नो सार्वभौमिकताविरुद्धको गतिविधिका रूपमा हेर्दै आएको छ।