हिन्दु मुस्लिम समुदाय बिच झडप पछि एकको मृत्यु, मध्य राती देखी सुनसरी तनावग्रस्त

काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भए पछि जिल्लाको स्थिति तनावग्रस्त भएको छ। गए राति अचानक साढे १० देखि सुरु भएको झडपमा एक जनाको मृत्यु भए पछि स्थिति नियन्त्रणमा लिनका लागि अहिले जिल्लाका पाँच ठाउँमा कर्फ्यु आदेश जारी भएको छ । यसरी झडपमा परी मृत्यु हुनेमा कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहता रहेका छन ।

सो क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो भने सशस्त्र प्रहरी बलले ७ राउण्ड गोली चलाएका थिए। सोही क्रममा मृतक मेहतालाइ गोली लागेको स्थानियले बताएका छन भने सो झडपमा परी इन्स्पेक्टर राकेश राई सहित १० जना प्रहरी र ५ जना सशस्त्रका सुरक्षाकर्मी घाइते भएका छन् । सो झडपमा परी एक दर्जन स्थानिय घाइते भएका छन ।

कप्तानगञ्ज स्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भए पछि सो झडप भएको थियो । प्रमुख जिल्ला अधिकारी सुदेव घिमिरेले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउँदै सो भन्दा अघि सुरक्षा स्थिति नियन्त्रणमा लिनका लागि पाँच ठाउँमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका छन् ।