
काठमाडौं, ११ साउन । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन मागेको छ। कम्पनीले योग्य, दक्ष र अनुभवी नेपाली नागरिकबाट १५ दिनभित्र आवेदन दिन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको हो।
कम्पनीका अनुसार सीईओ पदमा करार सेवाअन्तर्गत नियुक्ति गरिनेछ भने प्रारम्भिक कार्यकाल चार वर्षको हुनेछ। कम्पनीको रणनीतिक नेतृत्व, आयोजना सञ्चालन तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न सक्षम व्यक्तिलाई छनोट गर्ने उद्देश्यले खुला प्रतिस्पर्धा गरिएको जनाएको छ।


आवेदनका लागि उम्मेदवारले इलेक्ट्रिकल, मेकानिकल वा सिभिल इन्जिनियरिङ अथवा व्यवसाय प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। यस्तै, सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १२ वर्षको व्यावसायिक अनुभव भएका उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्।

जलविद्युत् आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनमा वरिष्ठ तहको अनुभव भएका तथा जलविद्युत् कम्पनीमा सीईओ वा सोसरहको नेतृत्वदायी जिम्मेवारी सम्हालेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। साथै, आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।


इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय वा कम्पनीले तोकेको इमेलमार्फत आवेदन पेश गर्न सक्नेछन्। आवेदन फाराम, योग्यता, कार्यविवरण तथा अन्य विस्तृत जानकारी कम्पनीको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।




