दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार

दक्षिण चीन सागरको नान्शा टापुस्थित योन्शु रिफ नजिकै एक भियतनामी जहाज दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४६ जना चालक दलका सदस्यको उद्धार गरिएको छ ।

आईतबार रातिसम्मको विवरणअनुसार उद्धार गरिएकामध्ये ४५ जनालाई चिनियाँ उद्धार टोलीले र एक जनालाई भियतनामी पक्षले सुरक्षित फेला पारेका हुन् । चीनको सान्सा सहरका अधिकारीहरूकाअनुसार आईतवार राति करिव ८ः०५ बजे चिनियाँ उद्धार जहाज नान्हाई जिउ ११५ ले उद्धार गरिएका ४१ जनालाई भियतनामी नौसेनाको जहाज ट्रोङ सा-०१ मा हस्तान्तरण गरेको छ ।

उद्धार गरिएका अन्य ४ जनालाई सोमवार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । लाइफ राफ्टमा रहेका मानिसहरूले लुगा हल्लाएर सहयोगको याचना गरिरहेको देखेपछि चिनियाँ जहाजले तत्काल उद्धार प्रक्रिया अघि बढाएको थियो । सान्सा समुन्द्री खोज तथा उद्धार प्राधिकरणकाअनुसार दुर्घटनामा परेको जहाज खोइ गुयेन १८, ६९.९ मिटर लामो र १०.८ मिटर चौडा रहेको छ ।

दुर्घटनाको समयमा जहाजमा कुल ६२ जना सवार थिए । बेपत्ता रहेका अन्य सदस्यहरूको खोजीका लागि घटनास्थलमा हाल ६ वटा चिनियाँ जहाज, एउटा उद्धार हेलिकप्टर र ७ वटा भियतनामी जहाजहरू निरन्तर परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।