यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण

यमनको विद्रोही समूह हुथीले आईतवार उत्तरी प्रान्त अल–जौफमा साउदी अरबद्वारा सञ्चालित एउटा जासुसी ड्रोन खसालेको दाबी गरेको छ । यसैबीच, दक्षिणी लाल सागरमा एउटा व्यापारिक जहाज (ट्याङ्कर) लाई लक्षित गरी सुरक्षा आक्रमण भएको रिपोर्ट प्राप्त भएको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अल–जौफको आकाशमा ‘शत्रुतापूर्ण कार्य’ मा संलग्न रहेको उक्त ड्रोनलाई ‘उपयुक्त हतियार’ प्रयोग गरी खसालिएको बताउनुभएको छ । यद्यपि, उहाँले सो कारबाहीबारे थप विस्तृत विवरण भने दिनुभएको छैन ।

यसैगरी, आईतवार नै युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेसनले सामरिक रूपमा महत्वपूर्ण बाब अल–मन्देव जलसन्धि नजिक दक्षिणी लाल सागरमा एक सुरक्षा घटना भएको जनाएको छ । एक ट्याङ्कर नजिकै अज्ञात क्षेप्यास्त्र खसेको र जहाज तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको उक्त निकायले उल्लेख गरेको छ । पछिल्लो समय हुथी समूहले साउदी अरबसँग सम्बन्धित जहाजहरूमाथि समुन्द्री प्रतिवन्धको घोषणा गर्दै लाल सागरमा व्यापारिक जहाजहरूमा आक्रमण तिब्र पारेको छ । यसको प्रतिक्रियास्वरूप साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी नियन्त्रित क्षेत्रहरूमा हवाई आक्रमण शुरु गरेको छ ।

शनिवार यमनको सरकारी टेलिभिजनले उत्तरी यमनका हुथी सैन्य अखडामा हवाई हमला भएको जानकारी दिएको थियो । अर्कोतर्फ, हुथी समूहले साउदी अरबको जिजान र यान्बु क्षेत्रमा रहेका ऊर्जा सुविधाहरूमा मिसाइल र ड्रोनमार्फत समन्वयकारी आक्रमण गरेको दाबी गरेको छ । सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी सानालगायत उत्तरी यमनका अधिकांश भूभाग कब्जा गरेपछि यमन गृहयुद्धमा फसेको हो । सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेपछि यो द्वन्द्व थप चर्किएको थियो ।

सन् २०२२ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामको अवधि सकिए पनि हालसम्म त्यहाँ एक किसिमको नाजुक युद्धविराम कायम छ । तर पछिल्ला सैन्य उकासवाजीले क्षेत्रीय सुरक्षा र लाल सागरको महत्त्वपूर्ण व्यापारिक मार्गमा ढुवानीको सुरक्षाप्रति पुनः गम्भीर चिन्ता पैदा गरेको छ ।