
नयाँ दिल्ली, ११ साउन । दिल्ली उच्च अदालतले ‘काला हिरनः द ब्याटल फर लिगेसी’ चलचित्रको टिजर सामाजिक सञ्जालबाट हटाउन निर्देशन दिएको छ।
अदालतले स्पष्ट पारेको छ कि यदि निर्माताहरूले २४ घण्टाभित्र टिजरका लिङ्कहरू हटाएनन् भने एक्स र युट्युबजस्ता इन्टरनेट कम्पनीहरूलाई यसलाई हटाउन आदेश जारी गरिनेछ।

अभिनेता सलमान खानले आफ्नो व्यक्तित्व सम्बन्धी अधिकार र निष्पक्ष सुनुवाइको अधिकारको रक्षाका लागि निवेदन दर्ता गराएका थिए। सलमानको आरोप छ कि चलचित्रमा उनलाई अन्डरवर्ल्डसँग सम्बन्ध भएको रूपमा चित्रण गरेर उनको छवि धूमिल पारिँदै छ।


सुनुवाइको क्रममा न्यायाधीश ज्योति सिंहले चलचित्रका निर्माता अमित जानीको व्यवहार प्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । अदालतले प्रतिवादीले दिनहुँ आफ्नो सीमा नाघिरहेको र आफू कानुन भन्दा माथि रहेको जस्तो व्यवहार गरिरहेको टिप्पणी गरेका छन । न्यायाधीशले यस्तो व्यवहार कुनै सामान्य नागरिक प्रति पनि स्वीकार्य नहुने बताए । उनका अनुसार प्रतिष्ठा निर्माण गर्न निकै ठूलो प्रयास लाग्छ र एकपटक छविमा आँच आएपछि त्यसलाई पुनः सुधार्न वा पुनर्स्थापित गर्न सजिलो हुँदैन।
सलमान खानका वकिलहरूले अदालतलाई जानकारी गराए अनुसार मे २९ मा सार्वजनिक गरिएको एउटा टिजरमा सलमानसँग मिल्दोजुल्दो देखिने र उनले सधैं लगाउने विशेष प्रकारको ब्रेसलेट लगाएको पात्र देखाइएको छ। यसबाट उक्त चलचित्र सलमान खान र सन् १९९८ को ‘ब्ल्याक बक’ अर्थात कृष्ण मृग सिकार प्रकरणमा आधारित रहेको स्पष्ट हुन्छ। सलमानका तर्फबाट यो पनि बताइएको थियो कि उनले यसअघि नै निर्मातालाई कानुनी सूचना पनि पठाएका थिए तर अमित जानीले एक अन्तर्वार्ताका क्रममा उक्त सूचना च्यातिदिए र आफूलाई अनलाइनमार्फत धम्की आइरहेको दाबी गर्न थालेका थिए ।

सुनुवाइको क्रममा निर्माता अमित जानीका वकिलले तर्क गरेका छन् कि चलचित्रमा कतै पनि सलमान खानको नाम प्रयोग गरिएको छैन र टिजरमा कुनै पनि एआई वा डिपफेक प्रविधि पनि प्रयोग गरिएको छैन। उनले यो केवल एउटा टिजर मात्र भएको र सार्वजनिक घटनाहरूमा आधारित चलचित्र बनाउनाले कसैको व्यक्तिगत अधिकारको उल्लङ्घन नहुने जिकिर गरेका थिए । यद्यपि, अदालतले यो तर्क अस्वीकार गर्दै भन्यो कि मुद्दा विचाराधीन रहेको अवस्थामा यस्तो सामग्री सार्वजनिक गर्नु अदालतको अवहेलना सरह हो।
सन् १९९८ मा ‘हम साथ साथ हैं’ चलचित्रको छायाङ्कनका क्रममा राजस्थानमा कृष्णसारको अवैध शिकार सम्बन्धी मुद्दा दर्ता भएको थियो। सलमानका वकिलहरूले अदालतलाई जानकारी गराए अनुसार यस मामिलामा जोडिएका चारमध्ये तीनवटा मुद्दामा उनी सफाइ पाइसकेका छन् जबकि बाँकी एउटा मुद्दामा भएको सजाय विरुद्धको पुनरावेदन हाल राजस्थान उच्च अदालत र सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। यस सन्दर्भमा चलचित्रमार्फत एउटा विशेष समुदायलाई उक्साउने प्रयास भइरहेको छ, जसले निष्पक्ष सुनुवाइको अधिकारमा प्रतिकूल असर पार्न सक्छ।





