
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


यस्तै रातिको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तराईका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले सम्भावित भारी वर्षाका कारण नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र तथा डुबान हुने स्थानमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।




