निर्वाचन कानून उल्लंघनको मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई जेल सजाय, निर्वाचन बदर हुने

दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई राष्ट्रपतीय निर्वाचनका क्रममा झूटो विवरण दिएको ठहर गर्दै जेल सजाय सुनाएको छ । निर्वाचन कानून उल्लंघनको अभियोगमा आएको यस फैसलाले उनको सन् २०२२ को निर्वाचनको कानूनी वैधतालाई बदर गर्ने जोखिम बढाएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले सोमवार युनलाई डेढ वर्षको कैद सजाय सुनाएको छ, जुन तीन वर्षका लागि निलम्बन गरिएको छ । अदालतले युनले राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा निर्वाचन ऐनको उल्लंघन गर्दै गलत सूचना प्रवाह गरेको निष्कर्ष निकालेको छ ।

युन र उनकी पत्नी संलग्न भ्रष्टाचारका आरोपहरूको अनुसन्धान गरेका स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले युनलाई सार्वजनिक पदाधिकारी निर्वाचन ऐन उल्लंघन गरेको भन्दै दुई वर्षको कारावासको माग गरेको थियो । दक्षिण कोरियाको विद्यमान कानूनअनुसार कुनैपनि निर्वाचित पदाधिकारीलाई अन्तिम अदालतले १० लाख वोन (करिव ६८० अमेरिकी डलर) भन्दा बढी जरिवाना गरेमा उनको निर्वाचन बदर हुने व्यवस्था छ ।

युन हाल पूर्वराष्ट्रपतिको हैसियतमा रहेकाले उनले पद त्याग गर्नु नपरे पनि, यो फैसलाले सन् २०२२ को निर्वाचनको वैधतालाई पूर्वव्यापी रूपमा शून्य र बदर गरिदिनेछ । यदि यो फैसला अन्तिम ठहरिएमा, वर्तमान सत्ताधारी पिपुल पावर पार्टीले निर्वाचन आयोगबाट शोधभर्नाका रूपमा प्राप्त गरेको करिव ३९.७ अर्ब वोन (२ करोड ७१ लाख डलर) निर्वाचन खर्च सरकारलाई फिर्ता गर्नुपर्नेछ ।

युनमाथि सन् २०२२ को जनवरीमा एक अन्तर्वार्ताका क्रममा आफू वा आफ्नी पत्नीले झाँक्री दलाल जेन सङ–बेलाई कहिल्यै नभेटेको भनी झूटो दाबी गरेको अभियोग थियो । त्यसैगरी, सन् २०२१ को डिसेम्बरमा भएको बहसका क्रममा घूस काण्डमा अनुसन्धानरत एक पूर्व जिल्ला कर प्रमुखलाई आफूले कहिल्यै वकिल सिफारिस नगरेको भनी झुटो विवरण दिएको आरोप पनि उनीमाथि पुष्टि भएको छ ।

पूर्वराष्ट्रपति युन अन्य गम्भीर मुद्दाहरूमा समेत दोषी ठहर भइसकेका छन् । सन् २०२४ डिसेम्बर ३ मा संकटकाल घोषणा गरी राज्यद्रोह गरेको अभियोगमा उनलाई यसअघि नै आजीवन कारावासको सजाय सुनाइएको छ । साथै, उत्तर कोरियामा ड्रोन घुसपैठ गराएको र देशद्रोह गरेको अभियोगमा गत जुनमा उनलाई ३० वर्षको कैद सजाय तोकिएको थियो ।

सन् २०२५ को जनवरीमा राज्यद्रोहको मुख्य योजनाकारको रूपमा हिरासतमा लिइएका युन, पदमा बहाल रहँदै पक्राउ परी अभियोग दर्ता गरिएका दक्षिण कोरियाको इतिहासकै पहिलो राष्ट्रपति हुन् ।