ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, १२ साउन । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थाबाट आवेदन मागेको हो।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने सार्वजनिक गरेको छैन। इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ। उक्त सेयर खरिद गर्ने व्यक्ति वा संस्था संस्थापक समूहअन्तर्गत रहनेछ। थप जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ।