
काठमाडौं, १२ साउन । कुमारी बैंक लिमिटेडले ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकले एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीका लागि विद्यमान संस्थापक शेयरधनीबाट आवेदन मागेको हो।


नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्। बैंकका अनुसार शेयरको बिक्री मूल्य विक्रेताले निर्धारण गरेबमोजिम हुनेछ। निर्धारित अवधिभित्र आवेदन नपरेमा बैंकले प्रचलित कानुनी व्यवस्थाअनुसार थप प्रक्रिया अघि बढाउने जनाएको छ।





