नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय– कहिलेसम्म लाग्दैन शुल्क ?

नेपालको यातायात पूर्वाधारको इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गा पार गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमवार आयोजित एक समारोहका बीच यस सुरुङमार्गको उद्घाटन भएसँगै नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने दशकौँ पुरानो सपनाले मूर्त रूप पाएको हो ।

नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको सञ्चालनले मुलुकलाई विधिवत रूपमा सुरुङ मार्गको युगमा प्रवेश गराएको छ । यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नागढुङ्गा सुरुङमार्गको उद्घाटनप्रति खुशी व्यक्त गर्दै सरकारले देशभरका अन्य निर्माणाधीन सुरुङमार्गलाई पनि ‘फास्ट ट्रयाक’मा अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले यस आयोजनाले समयको वचत गर्नुका साथै नागढुङ्गाको कठिन सडक खण्डमा हुने सम्भावित दुर्घटनाको जोखिमलाई न्युन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यद्यपि, सुरुङमार्ग प्रयोग गरेबापत सार्वजनिक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्कप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्क पुनर्विचार गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले सुरुङमार्ग प्रयोग गर्ने सवारीको लागि तोकिएको शुल्क धेरै बढी भएको गुनासो आएको बताउँदै सुरुङमार्ग सञ्चालन खर्च र सार्वजनिक यातायात व्यवसाय दुवैलाई असर नपर्ने गरी शुल्क निर्धारण गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले देशभरका अन्य सुरुङमार्ग निर्माणको कार्य समेत तिब्र गतिमा अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागढुङ्गा सुरुङमार्गको उद्घाटन भएकोमा हामी खुशी छौँ । सरकारले यससँगै देशभरका अन्य निर्माणाधिन सुरुङमार्गहरुको निर्माण पनि फास्ट ट्र्याकमा गर्नुपर्छ । सरकारले यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नतर्फ ध्यान दिनुपर्छ । आज यो सुरुङमार्ग उद्घाटन भएकोमा नेपाल यातायात राष्ट्रिय महासंघ र सार्वजनिक यातायात व्यवसायीको तर्फबाट म धन्यावाद पनि दिन चाहन्छु । तर सुरुङमार्गमा चल्ने सार्वजनिक यात्रुवाहक र मालवाहक सवारी साधनले तिर्नुपर्ने शुल्कबारे पुनर्विचार गर्न पनि म आग्रह गर्न चाहन्छु । महसुल अघि धेरै भयो भन्ने गुनासो सार्वजनिक यातायात क्षेत्रको आएको छ । यो सुरुङमार्ग धेरै ठूलो रकम खर्चिएर बनेको भन्ने हामीले सुनेका छौँ । तिर्नुपर्ने महशुल त तिर्नुपर्छ । सुरुङमार्ग सञ्चालन र सार्वजनिक यातायातलाई असर नपर्नेगरी आर्थिक कुराको व्यवस्थापन गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु ।’

सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार सुरुङमार्ग हाल केही दिनका लागि परीक्षण (ट्रायल) को चरणमा रहनेछ । उहाँले सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला नभएसम्म कुनैपनि शुल्क नलिइने स्पष्ट पार्नुभयो । हाँले सुरुङमार्गको अन्तिम चरणको प्राविधिक परीक्षण (मक ड्रिल) बाँकी रहेको भन्दै केही दिनमै सबै प्रकारका सवारीको लागि सुरुङमार्ग सञ्चालन गरिने बताउनु भयो । उहाँले सुरुङमार्गको आयु (डिजाइन लाइफ) एक सय वर्ष रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सुरुङमार्गको एक सय वर्षको डिजाइन लाइफ हुन्छ । यसलाई राम्रोसँग चलाउन सकियो भने यो डिजाइन लाइफसम्म टिक्छ । सुरुङमार्गमा अब हाम्रो थोरै काम गर्न बाँकी छ । हामीले अलिकति  मक ड्रिल गर्नुपर्नेछ । त्यसपछि छिट्टै नै सुरुङमार्ग पूर्ण रुपबाट सञ्चालनमा आउँछ । हामीले सुरुङमार्गमा प्रवेश गर्ने र बाहिरिने सवारीको लागि पहिले नै शुल्कहरु तोकिसकेका छौँ । सुरुङमार्ग पूर्ण रुपबाट सञ्चालन नभएसम्म हामी शुल्क लिदैनौँ । अहिले ट्रायल फेज नै छ । पूर्ण रुपमा सञ्चालन भएपछि हामी पूर्वनिर्धारित रुपमा शुल्क लिन्छौँ ।’

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको भौगोलिक जटिलताका कारण सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य रहेको बताउनु भयो । उहाँकाअनुसार चालू आर्थिक वर्षभित्रै निर्माणाधीन ९ सय मिटर लामो सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।  सुरुङमार्ग सञ्चालनको लागत र शुल्कबारे स्पष्ट पार्दै सचिव सिग्देलले सुरुङभित्र सुरक्षा, निगरानी र वायुको गुणस्तर कायम राख्न २४ सै घण्टा प्राविधिक जनशक्तिको उपस्थिति आवश्यक पर्ने भएकाले यसको सञ्चालन खर्च तुलनात्मक रूपमा बढी हुने बताउनु भयो तर भविष्यमा धेरै सुरुङमार्गहरू सञ्चालनमा आएपछि एउटै एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उहाँको भनाइ छ । हाल काठमाडौं–तराई फास्ट ट्रयाकलगायत अन्य ६ वटा सुरुङमार्गको निर्माण कार्य पनि द्रुत गतिमा अघि बढिरहेको उहाँले जानकारी दिनुभयो  ।

images

उहाँले भन्नुभयो, ‘यो सुरुङमार्गको उद्घाटन गरेसँगै हामी सुरुङमार्गको युगमा प्रवेश गरेका छौँ । निर्माणको क्रममा रहेको ९ सय मिटरको सिद्धबाबा सुरुङमार्ग हामी यही आर्थिक वर्षभित्र सञ्चालन गर्छौँ । त्यसैगरी  ६ वटा सुरुङमार्ग पनि हाम्रो फास्ट ट्र्याकमा निर्माणको क्रममा रहेका छन् । यसले के देखाउँछ भने विस्तारै हामी सुरुङमार्गमा प्रवेश गर्दैछौँ । सुरुङमार्ग आफैंमा सुरक्षित यात्राको लागि एउटा विकल्प हो । तर सञ्चालन लागत अलि बढी हुन्छ । लागत कसरी घटाउने भन्ने विषयमा हामीले अध्ययन, अनुसन्धान गर्नुपर्ने हुन्छ । तर हाम्रो जस्तो भौगोलिक अवस्था भएको देशमा सुरुङ अपरीहार्य छ । समयको वचत र सवारी दुर्घटना घटाउने कुरामा सुरुङमार्ग अत्यन्तै आवश्यक छ । भविष्यमा अझै धेरै सुरुङमार्ग निर्माण गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । सुरुङ सञ्चालनको क्रममा दुर्घटना हुन नदिको लागि पनि मानवीय उपस्थिति आवश्यक छ । त्यसकारण विभिन्न सवारी साधनबाट उत्पन्न हुने ग्यासहरु फाल्नको लागि पनि २४ सै घण्टा मानवीय उपस्थिति हुनुपर्ने कारणले अलि महंगो पर्छ । तर भविष्यमा धेरै सुरुङहरु भयो भने एउटै मेकानिज्म र एउटै व्यवस्थापनले एकभन्दा बढी सुरुङमार्ग सञ्चालन गर्दाखेरी त्यसको लागत घट्छ ।’

सडक विभागकाअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गभित्र सुरक्षाका कारण मोटरसाइकल, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीसाधन र पैदलयात्रीलाई प्रवेश निषेध गरिएको छ। साथै, प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनले पनि यस मार्गको प्रयोग गर्न पाउने छैनन् । वि.सं. २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गरिएको यस आयोजनाको शुरुवाती लागत करिव २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । यद्यपि, निर्माणका क्रममा आइपरेका भूगर्भीय समस्या, डिजाइनमा गरिएका परिमार्जन र अन्य प्राविधिक कारणले गर्दा यसको कुल लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । खर्चको हिसावले चुनौतीपूर्ण देखिए पनि यस सुरुङमार्गले नेपालको आधुनिक पूर्वाधार विकासमा एक नयाँ मानक स्थापना गरेको छ ।

images