
काठमाडौं, १२ साउन । मेटाले फेसबुकबाट हटाइएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो पुनः फिर्ता गरिदिएको छ ।
कम्पनीले मंगलबार जनाएअनुसार प्राविधिक गडबडीका कारण भारतीय प्रधानमन्त्री मोदीको उक्त भिडियो झुक्किएर हटाइएको थियो।

यसअघि उक्त भिडियो केही समयका लागि फेसबुकमा उपलब्ध भएको थिएन, जसले गर्दा विभिन्न प्रश्नहरू उठेका थिए। प्रधानमन्त्री मोदीले यो भिडियो जुलाई २३ मा सार्वजनिक गरेका थिए । यसमा उनले ‘जेन जी’ र विद्यार्थीहरूलाई सम्बोधन गर्दै परीक्षाको प्रश्नपत्र चुहावट विरुद्ध कडा कारबाही गर्ने आश्वासन दिएका थिए।


सो बिषयमा भारतको सूचना प्रविधि मन्त्रालयले मेटाका विश्वव्यापी प्रमुख तथा कम्पनीका सार्वजनिक नीतिसम्बन्धी विश्वव्यापी प्रमुखलाई बोलाएको छ।
जुलाई २३ को मध्यरातमा आफ्नो उक्त ह्यान्डलमा पोस्ट गरिएको २.५६ मिनेट लामो भिडियो सन्देशमा मोदीले भनेका थिए, ‘प्रश्नपत्र चुहावट सामान्य वा सानोतिनो विषय होइन, यसले लाखौं विद्यार्थी र उनीहरूका अभिभावकलाई पीडा दिन्छ। त्यसैले, यो समस्या समाधान गर्न विगत साढे दुई महिनामा विभिन्न कदमहरू चालिएका छन्। दोषीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। विद्यार्थीहरूको शैक्षिक सत्र खेर जान नदिनु हाम्रो दायित्व थियो, त्यसैले हामीले छोटो समयभित्रै २२ लाख विद्यार्थीका लागि परीक्षा सञ्चालन गर्यौं। यसको नतिजा पनि जुलाई १९ मा सार्वजनिक गरियो।’

उनले यो पनि बताएका थिए कि उनीहरू यतिमै सन्तुष्ट हुनेछैनन्, त्यसैले ‘फास्ट ट्र्याक’ अदालत स्थापना गर्न निर्देशन जारी गरिएको छ। वास्तवमा, यो सम्पूर्ण प्रकरण गत मे ३ मा भएको प्रश्नपत्र चुहावटको घटनासँग जोडिएको छ।





