
काठमाडौं । साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ ।
दाहाल यज्ञनिधि सुधा सदनले नेपाली भाषा-साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत अधिकारी र सुब्बालाई संयुक्त रुपमा पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

संस्थाकी अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा रहेर शिक्षण पेशासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा निरन्तर समर्पित साहित्यकार भवानी अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्याएका निर्देशक सुब्बालाई सम्मान गरिने भएको हो । ताम्रपत्रसहित प्रस्तुत पुरस्कारको राशि संयुक्त रुपमा एक लाख पचास हजार रहेको छ ।


उक्त पुरस्कार आगामी श्रावण २५ गते सोमबारका दिन काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरको माथिल्लो हलमा आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने सदनले जनाएको छ ।
दाहाल यज्ञनिधिको नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा ५१ लाख रूपियाँको अक्षयकोश राखिएको छ । अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गर्दै आएको छ ।

दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) का दुई जना छात्रछात्रा पुरस्कृत हुन्छन्। हरेक वर्ष कक्षा ८ बाट उत्तीर्ण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रछात्रालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिन्छ । दाहाल यज्ञनिधिले लामो समय अध्यापन गरेको दरबार स्कुलमा उनको नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो ।
वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो ।





