
मुम्बई (एजेन्सी)- बलिउडका बादशाह शाहरुख खानलाई सुरक्षाकर्मीसँग हातपात गरेको आरोपमा मुम्बईको बानखेडे स्टेडियममा आजीवन प्रतिबन्ध लगाइएको छ। बुधबार राति आइपिएल अन्तर्गत कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्सबीचको महत्वपूर्ण खेलका क्रममा स्टेडियम पस्न खोजेका शाहरुखलाई सुरक्षाकर्मीले अनुमति नदिएपछि उनले अभद्र व्यवहार प्रदर्शन गरेका थिए। त्यस घटनापछि एमसिएले उनलाई स्टेडियममा प्रवेस गर्न आजीवन प्रतिबन्ध लगाएको छ। हुनत यस निर्णयमाभारतीय क्रिकेटको सर्वोच्च संस्था भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ)को स्विकृति हुन बाकी छ।
कोलकताको मुम्बईमाथि भएको जित लगत्तै शाहरुखले मदिरा सेवन गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले उनलाई स्टेडियम प्रवेस गर्न नदिएपछि विवाद उत्पन्न भएको थियो। एमसिए अधिकारीले यस सम्बन्धमा मरिन ड्राइव थानामा रिपोर्ट दर्ता गराएका छन्।
यस विच शाहरुखले यस सम्बन्धमा आफ्नो वयान दिदै एमसिएको व्यवहार आफू प्रति निकै आक्रामक भएको बताएका छन्।
बिहिबार आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहरुखले भने,…उनीहरूले पहिला मलाई गाली गरेका थिए, त्यसपछि मैले पनि केही भने हुला त्यसको मलाई सम्झना छैन।’
सुरक्षाकर्मीको दुर्व्यवहारपछि आफू उत्तेजित भएको शाहरुखले बताए। उनले आफूले मदिरा सेवन नगरेको पनि बताए।





